हेटौंडालाई २०८० मंसिरसम्म बालमैत्री घोषणाका लागि वडा-वडामा अभियान
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकालाई आगामी २०८० सालको मंसिरसम्म बालमैत्री घोषणा गर्ने गरी यतिबेला तयारीलाई तिब्रता दिइएको छ ।
सोही बमोजिम वडा वडामा अहिले धमाधम विभिन्न अभियानहरु चलाइएका छन् । अभियान अन्तर्गत नै उपमहानगरको दुई वटा वडामा बालविवाह रोकिएको छ ।
बालमैत्री नगर घोषणाका लागि उपमहनगरले नियूक्त गरेको वडा सहजकर्ता तथा सम्पर्क व्यक्तिको सक्रियतामा उपमहानगरको १४ र १७ नम्बर वडामा बालविवाह रोकिएको हो । दुबै वडामा फागुन १० गते हुन लागेको बिवाह रोकिएको बताईएको छ ।
गाउँमा १८ बर्ष भन्दा मुनिका बालवालिकाको विवाहका लागि दुवै पक्ष तयारी अवस्थामा रहेको जानकारी पाएपछि कानून विपरित हुन लागेको विवाह रोकिएको उपमहानगरका महिला तथा वालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले जानकारी दिइन् ।
नगरलाई बलमैत्री घोषणाको तयारीमा रहँदा महाशाखाबाटै वडा र विद्यालयहरुमा सचेतनाका कार्यक्रम संचालनका क्रममा जाँदा वालबिवाह हुँदै गरेका जानकारी पाएपछि वडा सहजकर्ता र वडा कार्यालयले तोकेको सम्पर्क व्यक्तीलाई परिचालन गरेर विवाह रोक्ने कार्य भएको उनले बताइन् । उनका अनुसार यस अघि हेटौंडा उपमहानगरपालिका १९ मा वडाकार्यालय र जनप्रतिनिधीहरुको सक्रियतामा वालविबाह रोकिएको थियो ।
बालमैत्री उपमहानगर घोषणाको तयारीका क्रममा विभिन्न होटल तथा व्यापारिक क्षेत्रमा प्रयोग भएका ७ जना वालबालिकालाई पुनःस्थापनाको काम गरेको महशाखाले जनाएको छ । अहिले यसै क्षेत्रका भन्दा पनि बाह्य जिल्लाबाट आएर हेटौंडाका विभिन्न होटल तथा अन्य क्षेत्रका काम गर्ने बालवालिकाहरु रहेको बताइएको छ । बाह्य जिल्लाबाट आएर काममा रहेका ३ जना वालबालिकालाई सस्थागत रुपमा पुनःस्थापनाको काम भएको र ति मध्ये एक जना हेटौंडामै परिवारबाट छुटाएर राखिएको महाशाखाले जनाएको छ ।
केहीलाई पारिवारीक पुनःस्थापनाको काम गरिएको छ । पारिवारिक रुपमा बालबालिकाको ख्याल पुर्ण रुपमा नगर्ने, बाबुआमा अव्यवस्थित ढंगबाट सडकमा नै रहने गरेकाले बालबालिकाको स्वास्थ्य अवस्था र लालनपालनलाई ख्याल गर्दै संस्थागतरुपमा पुनःस्थापनाको काम गरिएको हो । विभिन्न समस्यामा परेको वालबालिकाको पुनःस्थापना र व्यवस्थापनका लागि बालकोष स्थापना गरेका काम थालिएको महशाखाले जनाएको छ ।
नेपाल सरकारले २०८७ सालभित्र देशलाई पुर्ण बालमैत्री घोषणाको तयारी गरे अनुसार हेटौंडा उपमहानगरले पनि आगामी २०८० सालको मंसिरभित्र पालिकालाई बालमैत्री घोषणा गर्ने धमाधम तयारी थालेको छ ।
यही अभियानका लागि उपमहानगरपालिकाले १ नगर र १९ वडा सहजकर्ता तथा ३० जना तथ्यांक संकलक गरी ५० जनालाई नियुक्ती दिएर धमाधम आफ्नो अभियान बढाएको छ ।
यसअघि मकवानपुरका १० पालिका मध्ये मनहरी, बकैया र मकवानपुरगढी गाउँपालिका बालमैत्री घोषणा भैसकेका छन् ।
बालमैत्री पालिका घोषणाका लागि वडा तथा तथ्याङक संकलकले ५१ वटा सुचकमा आधारीत भएर काम गर्ने बताइएको छ ।











































