मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज शुक्रबार विश्वासको मत लिने तयारी छ ।
मुख्यमन्त्री जम्कट्टेलले ८ चैतमा विश्वासको मत लिने तयारी भएपनि अन्तिम समयमा स्थगित भएको थियो । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस अनुपस्थित भएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने समय आज १० चैतमा सारेका हुन् । राष्ट्रपति निर्वाचनसंगै केन्द्रमा बदलिएको सत्ता समिकरणपछि बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजिनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
आज विश्वासको मत लिनका लागि दिउशो १ बजे बैठकको तयारी छ । बुधबार कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय लिएको छ । तर सरकारमा मुख्यमन्त्रीको नेतृत्वमा आफूहरुको पनि दाबी हुने बताएको छ । सत्तामा उचित भागबन्डा हुनुपर्ने कांग्रेसको भनाई छ ।
एमाले–राप्रपासहितको गठबन्धनबाट मुख्यमन्त्री बनेका जम्कट्टेलले प्रदेशसभामा ११० मध्ये १०५ सांसदबाट विश्वासको मत पाएका थिए । एमाले र राप्रपाले समर्थन नगरे पनि जम्कट्टेलले विश्वासको मत प्राप्त गर्नेछन् ।
जम्कट्टेल गत पुस २५ गते ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।











































