बागमतीका पत्रकारको सामुहिक दुर्घटना बीमा
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारको सामुहिक दुर्घटना बीमा गरिदिएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ जना पत्रकारको राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत बीमा गरिदिएको हो ।
प्रतिव्यक्ति ४ लाख रुपैया दरले दुर्घटना बीमा गरिएको मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिए । कार्कीका अनुसार ६३ करोड ४० लाख रुपैया बराबरको बिमांक रकमको बीमा गरिएको हो । चैत्र ५ बाट लागु हुने बीमालेख अनुसार बीमीत पत्रकारको मृत्यु भएमा कुल ४ लाख रुपैया र दुर्घटना भएको खण्डमा एकलाख रुपैया बराबरको औषधी उपचार खर्च भुक्तानी दाबी लिन सकिनेछ ।
आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले जिम्मेवारी सम्हालेपछि पत्रकारको बीमाको काम छिटो कार्यान्वयन गर्न निर्देशन दिएपछि पत्रकाहरुको सामुहिक दुर्घटना बीमा लागू भएको हो । मन्त्री श्रेष्ठले नेपाल पत्रकार महासंघ बागमती प्रदेशलगायत अन्य ५ वटा संस्थाहरुलाई समेत पत्रकाहरुको क्षमता अभिबृद्धि गर्न सहयोग गरिएको बताए ।
यसअघि मन्त्री श्रेष्ठको प्रस्तावमा जंगली हात्तीले ज्यान लिएका मकवानपुरका २ जना र सिन्धुलीका १ जना मृतकको परिवारलाई प्रति परिवार एकलाख रुपैया राहत उपलब्ध गराइएको जनाइएको छ ।











































