गठबन्धनका दलले पाउँने मन्त्रालय संख्यामा सहमती

लोकखबर
२०७९ चैत्र १५, बुधबार १८:२६

मकवानपुर । सरकारमा सहभागिताका विषयमा निर्णय लिन बसेको दश दलीय गठबन्धनको बैठकमा गठबन्धनका दलले लिने मन्त्रालयको संख्याबारे सहमती भएको छ ।
गठबन्धनका दश दलमध्ये राष्ट्रिय जनमोर्चाबाहेक सरकारमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहीबार मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
गठबन्धन बैठकमा कांग्रेसले ८ माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको बुझिएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको जनाइएको छ ।
यसैबिच, सरकारमा सहभागिताका लागि नेकपा एकीकृत समाजवादीले दुईजना मन्त्रीको नाम टुंगो लगाएको बुझिएको छ ।
बुधबार बसेको पार्टी सचिवालय बैठकले उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई मन्त्री बनाउने निर्णय लिएको जनाइएको छ ।
स्रोतका अनुसार भुसाललाई शिक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त हुने सम्भावना छ । यस्तै, ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने बुुझिएको छ ।
एकीकृत समाजवादीले उपप्रधानमन्त्री सहित तीन वटा मन्त्रालय पाउँनुपर्ने दाबी गरेपनि गठबन्धनका दलबीच भागबन्डा मिलाउन सकस परेपछि एक राज्यमन्त्री दिनेगरी अहिलेलाई दुई मन्त्रालय पाउने जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको