एकल महिलाको जन्मदर्ता आमाको थर, ठेगानामा गर्न परिपत्र
मकवानपुर । गृह मन्त्रालयले एकल महिलाबाट जन्मेका र पितृत्वको ठेगान नभएका बच्चाको जन्मदर्ताको विषयमा देशका ६ हजार ७४३ वडाका सबै स्थानीय पञ्जिकाधिकारीलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमार्फत निर्देशनात्मक परिपत्र जारी गरेको छ ।
एकल महिलाबाट जन्मेका र पितृत्वको ठेगान नभएका बच्चाको जन्म दर्ता गर्ने विषयमा थप प्रस्ट पारिदिन अनुरोध आएबमोजिम परिपत्र पठाइएको पञ्जीकरण शाखाका निर्देशक नवराज जैसीले बताएका छन् ।
परिपत्रअनुसार विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानमा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने, विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिने उल्लेख छ ।
यस्तै, बुँदा १ र २ अनुसार बच्चाको जन्मदर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्मदर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्मदर्ता गरिदिने साथै बुँदा ४ मा १ र २ बाहेक अन्य अवस्थामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (संशोधन सहित), २०७७ र विभागको यसअघिका परिपत्रअनुसार गर्न पनि अनुरोध गरिएको छ ।
देशका सबै जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयलाई परिपत्र बोधार्थ पठाइएको पनि विभागले जनाएको छ ।











































