नयाँ वर्षले नयाँ अवसर र सम्भावनाको क्षितिज खोल्न सकोस् : प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ वर्ष २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई दिदी-बहिनीहरूमा सुख,शान्ति संमृद्धि र सुस्वास्थ्यको लागि शुभकामना व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख शर्माले शुुभकामना जारी गर्दै भनेका छन्,‘विक्रम संवत २०७९ मा झुण्डिएको भित्तेपात्रोले अवकाश पाएको छ र विक्रम संवत २०८० को पात्राले नेपाली घरका भित्ताहरूमा आजदेखि पदबहाली गरेको छ ।’ नयाँ पात्राको पदवहालीको यो दिनलाई हामी नववर्ष भन्दछौं भन्दै प्रदेश प्रमुख शर्माले यो नयाँ वर्षमा संमृद्ध जीवनका सपना साकार पार्ने सार्थक प्रयत्न हामी सबैले गर्न सकौं भनेका छन् ।
प्रमुख शर्माले भनेका छन्,‘देशलाई सर्वोपरि राखी हामी र हाम्रो भन्ने साझा भावनाको विकास गर्न आजैका दिनदेखि मन, वचन र कर्मले लागिपर्न प्रतिबद्ध रहन सकौं ।’ उहाँले संविधानले निर्धारित गरेको लक्ष्य र राष्ट्रले तय गरेको गन्तव्यमा पुग्न हाम्रो दृढ निश्चय र कठोर सङ्कल्प चाहिने बताएका छन् । यसले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढिकरणमा थप टेवा पु¥याउँन सक्ने उनको भनाई छ ।
समस्त देशवासीहरुका लागि नयाँ वर्षले नयाँ अवसर र सम्भावनाको क्षितिज खोल्न सकोस् भन्ने कामना प्रदेश प्रमुख शर्माको छ। ‘हाम्रो बीचमा रहेको सद्भाव, भातृत्व र सहिष्णुता अझ प्रगाढ र कसिलो बन्न सकोस्,स्थायी शान्ति,दिगो विकास र आर्थिक समुन्नतिको मार्ग प्रसस्त हुन सकोस्’ शर्माले भनेका छन् ।
भित्तेपात्रो फेर्ने र केही पटाका फोर्ने कर्मकान्डी परम्पराको अन्त्य गरी देश निर्माणको महायज्ञमा समर्पित रहन विक्रम संवत २०८० ले हामी सबैलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना प्रमुख शर्माले व्यक्त गरेका छन् ।











































