वनस्पतिका ५६ घरपरिवारलाई जग्गा धनी लालपुर्जा

लोकखबर
२०८० बैशाख २७, बुधबार १९:११

मकवानपुर । राष्ट्रिय भूमि आयोग मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ वनस्पतिमा भूमिहिनहरुलाई जग्गा धनी लालपुर्जा वितरण गरेको छ ।

एक समारोहकाबीच वनस्पतिमा रहेको ५६ घर परिवारलाई जग्गा धनी लालपुर्जा वितरण गरिएको १३ नम्बर वडाका वडा अध्यक्ष पेम्बा लामाले जानकारी दिए ।

२०५० सालको असार-साउनमा आएको बाढीपहिरोले घरबारविहीन भएकाहरुलाई २०५२ सालमा ताइवानी सरकार चुची फाउन्डेसनको आर्थिक सहयोगमा बाढीपीडितहरुका लागि ४ सय घर बनेको थियो । मकवानपुर जिल्ला लगायत छिमेकी जिल्लाहरु काभ्रे, सिन्धुली, धनकुटाका बाढीपीडितहरु वनस्पतिमा बस्दै आएका छन् । २०५२ सालमा बनेका ४ सय वटा घरहरुमध्ये ३ सय २९ घरपरिवारलाई मात्र जग्गा धनि लालपुर्जा वितरण गरिएको थियो । ७१ घर परिवारले भने जग्गा धनि लालपूर्जा पाएका थिएनन् । ७१ घर परिवारमध्ये आज ५६ परिवारलाई मात्रै जग्गाधनी पुर्जा प्रदान गरिएको वडा अध्यक्ष लामाले बताए । बाँकी १५ परिवारले राजस्व नतिरेका कारणले लालपूर्जा पाउँन नसकेको र उनीहरुले राजस्व तिरेको १५ दिनपछि लालपुर्जा प्राप्त गर्ने आयोगका अध्यक्ष विष्णु दाहालले जानकारी दिए ।

२०५२ सालबाट बस्दै आएको परिवारले लालपुर्जा प्राप्त गरेपछि खुशी व्यक्त गरेका छन् । आयोगका अध्यक्ष दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता थियो ।

कार्यक्रममा नगर उपप्रमुख राजेश वानियाँ, वडा अध्यक्ष लामा, वडा सदस्यहरु, स्थानीय टोलविकासका अध्यक्ष तथा पदाधिकारी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको