समाजवादी मोर्चा घोषणा केही दिनभित्रै !

लोकखबर
२०८० असार १, शुक्रबार १४:०९

मकवानपुर । आज १ असारमा समाजवादी मोर्चा घोषणाको चर्चा गरिएपनि अन्तिम समयमा स्थगित भएको छ ।
कम्युनिष्ट तथा वाम पार्टीको सहभागितामा समाजवादी मोर्चा निर्माण गरी घोषणा गर्ने चर्चा चलेको हो । मोर्चामा सत्तारुढ माओवादीकेन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, नेपाल समाजवादी पार्टी लगायत समाजवादी विचारधाराका पार्टी रहने जनाइएको छ । मोर्चामा सत्तारुढ र सरकार बाहिर रहेका दल सहभागी भई समाजवादी अभियान अघि बढाउने एकीकृत समाजवादीका उप महासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले मोर्चा घोषणाका लागि आवश्यक तयारी नपुगेकाले समय लाग्ने बताए । शुक्रबार नेकपा एकीकृत समाजवादीको सचिवालयको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खतिवडाले अब केही दिनमै मोर्चा घोषणा हुने बताए ।
केही दलहरूका प्रमुखहरू काठमाडौं बाहिर भएको र पार्टीका कतिपय आन्तरिक विषयमा पनि छलफल बाँकी रहेकाले मोर्चा घोषणामा केही ढिलाई हुन गएको उपमहासचिव खतिवडाले जानकारी दिए ।
मोर्चा घोषणाका लागि आधारपत्र समेत तयार भइसकेको जनाइएको छ । मोर्चा गठनका लागि नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी)ले आफ्ना पार्टीभित्र छुट्टा छुट्टै कार्यदल गठन गरेका छन् ।
माओवादीले उपाध्यक्ष कृष्णबहादुर महरा, एकीकृत समाजवादीले महासचिव बेदुराम भुसाल र जसपाले बरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा कार्यदल बनाएको हो । कार्यदले बनाएको आधारपत्रलाई शीर्ष नेताहरुले अन्तिम रुप दिन बाँकी रहेको जनाइएको छ । स्रोतका अनुसार आधारपत्र १५ बुँदामा तयार पारिएको छ । यसमा समाजवादी मोर्चा निर्माणको आवश्यकता, सरकारका न्यूनतम साझा कार्यक्रमका विषय समेटिएको जनाइएको छ ।
समाजवादी मोर्चा निर्माण भएमा यो ५४ सिट सहितको संसदको तेस्रो बलियो शक्ति हुनेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको