बागमतीको बजेट ६२ अर्ब ७० करोड ९० लाख

लोकखबर
२०८० असार २, शनिबार १०:२५

मकवानपुर । बागमती प्रदेश सकारले आगामी आर्थिक वर्षको लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैंयाको बजेट ल्याएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले कुल विनियोजन मध्ये चालु तर्फ २६ अर्व ७० करोड २७ लाख ६९ हजार, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्था तर्फ ५० करोड विनियोजन गरिएको जानकारी दिए । उनका अनुसार कुल विनियोजन मध्ये चालु तर्फ ४२.५८ प्रतिशत, पुँजीगत तर्फ ५६.६२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ०.८ प्रतिशत रहेको छ ।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट ५ अर्व २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट रु.१७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको वचत र अन्य प्राप्तिबाट १४ अर्व ४५ करोड ४७ लाख व्यहोरिने अनुमान गरिएको जनाइएको छ ।
प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि ३ अर्ब ३८ करोड रुपैंया विनियोजन गरिएको पाइएको छ ।
चालु आर्थिक बर्षको लागि ४ अर्ब ७० करोडको बजेट ल्याएकोमा आगामी आर्थिक बर्षको लागि १ अर्ब भन्दा बढि बजेट घटाएर ल्याएको हो ।
कृषि कार्यक्रम अन्तर्गत कृषकलाई परिचय पत्र वितरण गरिने जनाइएको छ । दूध उत्पादन बढाउन प्रदेशभित्र १० वटा दूध जोन स्थापना गर्न बजेट छुट्याइएको छ ।
काठमाडौंभित्र एक आधुनिक कृषि बजार स्थापना गर्न पनि बजेट छुट्याइएको छ भने अनुदान, सहुलियकका कार्यक्रम र कृषि विस्तारका कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाइएको छ । यस्तै, उच्च मूल्यका कृषि बाली वस्तुहरूको उत्पादनदेखि उपभोगसम्मका प्रबद्र्धनात्मक कार्यक्रम सञ्चालन गरी साना तथा मझौला कृषकहरूको आयआर्जन वृद्धि गर्न मूल्य सृङ्खला प्रबद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
कृषि क्षेत्र सम्बद्ध भौतिक पूर्वाधार निर्माणका लागि ४३ करोड १५ लाख विनियोजन गरिएको छ ।
प्रदेशको वन तथा वातावरण मन्त्रालयको लागि ३ अर्ब ३ करोड रुपैंया विनियोजन भएको छ ।
प्रदेश सरकारले सन् २०२४ लाई भ्रमण वर्षको रुपमा मनाउन पर्यटन प्रवद्र्धनका लागि योजना ल्याएको छ ।
यस्तै, प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १२ करोड ३२ लाख रुपैंया विनियोजन गरेको छ ।
प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक उत्पादन गर्न स्नाकोत्तरसम्मको पढाई संचालनका लागि बजेट विनियोजन गरिएको हो ।
यसैबिच, चितवनमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि पाँच करोड रुपैंया बजेट विनियोजन गरिएको छ ।
प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलका नेता जगन्नाथ थपलियाले बजेट खासै गतिलो नआएको प्रतिकृया दिए । बजेटमा विकास, रोजगारी, शिक्षा, खाद्य सुरक्षा, सरसफाई लगायतका विषयमा ठोस योजना नआएको बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको