रोटरी क्लव अफ मकवानपुरको सहयोगमा हेटौंडा अस्पताललाई मुटुको उपचार गर्ने मेसिन

लोकखबर
२०८० असार १३, बुधबार २२:१५

मकवानपुर । मकवानपुरको हेटौंडा अस्पतालका लागि रोटरी क्लव अफ मकवानपुरले मुटु स्वास्थ्य सम्बन्धी उपचारका लागि आवश्यक ‘इको कार्डियो’ नामक मेसिन सहयोग गर्ने भएको छ । उपचारका लागि आवश्यक पर्ने ८८ लाख ६० हजार चार सय ७२ रुपैंयाको मेसिनका विभिन्न सात प्रकारका उपकरण अस्पताललाई सहयोग गर्न लागिएको रोटरी क्लव अफ मकवानपुरले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
अस्पतालका लागि मेसिन सहयोग गर्न रोटरी क्लव अफ मकवानपुरको ८ लाख,हेटौंडा उपमहानगरपालिकाको कार्यालयबाट ११ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको पत्रकार सम्मेलनमा अध्यक्ष कृष्णबहादुर कार्कीले जानकारी दिए । यस्तै, रोटरी ईन्टरनेशनल अन्तर्गत रहेको रोटरी फाउण्डेशन, रोटरी क्लब अफ लेकउड,रोटरी क्लव अफ क्यामवेल रिभर रोटरी क्लव अफ नर्थ किटसाप,रोटरी क्लव अफ नानिमो डेब्रेक, रोटरी क्लव अफ होनोलुलु सनसेट, रोटरी क्लव अफ पोर्ट अचाड,रोटरी क्लव अफ बेनब्रिज आईसलैण्ड, रोटरी क्लव अफ किहाई वाईलिया र द रोज ईनटरनेशनल फण्ड फर चिल्ड्रेन (जापान, अमेरिका र विश्व का अन्य रोटरी क्लवहरुको सहयोग ) लगायत संस्थाको सहयोगमा मुटु सम्बन्धी स्वास्थ्य समस्या भएकाको उपचारका लागि सघाउ पुर्‍याउँन मेसिन सहयोग गरिएको हो । अस्पताललाई सहयोग गरिएको मेसिन हस्तान्तरण भने विहीबार एक औपचारिक कार्यक्रममार्फत गरिने क्लवले जनाएको छ ।
रोटरी क्लब अफ मकवानपुर २०७० सालमा स्थापना भई मकवानपुर जिल्लाको खानेपानी, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा विभिन्न कामहरु गर्दै आइरहेको छ । पछिल्लो समय स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर काम गरिरहेको संस्थाले हेटौंडामा स्वास्थ्य क्षेत्रको अवस्थालाई सुधार गर्न आवश्यक कार्य गर्ने सोच बनाएको जनाएको छ ।
हेटौंडा अस्पतालको संचालक संस्था मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका राजिष्ट्रार राजेश प्रसाई, हेटौंडा अस्पतालका प्रमुख डाक्टर रामचन्द्र सापकोटा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
रोटरी क्लव अफ मकवानपुरले गत २०७४ फागुनमा चुरेहिल अस्पतालका लागि ३ थान डायलेलिस मेशिन हस्तान्तरण गरेको थियो । यस्तै, थाहा नगरपालिकाको कार्यालय, कैलाश गाउँपालिका, भीमफेदी गाउँपालिकामा स्वास्थ्य सेवाका लागि आवश्यक सामग्री सहयोग गरिएको रोटरी क्लव अफ मकवानपुरका वर्ष सचिव (२०२२–२०२३) का विजयकुमार श्रेष्ठले जानकारी दिए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको