देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन प्रेरणा मिलोस्: प्रदेश प्रमुख शर्मा

लोकखबर
२०८० असार १५, शुक्रबार १९:१६

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुक्रबार मनाइदै गरिएको २० औं राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय अर्थतन्त्रमा धानको अत्यन्त महत्वपूर्ण योदान रहँदै आएको बताएका छन् ।

प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै कृषिका लागि प्रशस्त सम्भावना भएको देश नेपालमा धानलाई मुख्य खाद्य बालीका रुपमा लिइने बताउँदै यसको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका हुन् ।

असार १५ अर्थात्, आजको ‘दिनलाई मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्ये दिनका रुपमा पनि हामीले लिने गरेको भन्दै प्रमुख शर्माले वि.सं.२०२० को दशकसम्म नेपाल दक्षिण एसियामा सबैभन्दा बढी धान उत्पादन गर्ने देशका रुपमा परिचित रहेको उल्लेख गरेका छन् । ‘तर, विगत केही वर्षयता नेपालमा धानको आपूर्ति व्यवस्थापन गर्न सक्ने अवस्था हुँदाहुँदै पनि आयात बढिरहेको तथ्याङ्क छ ।’ धानको उत्पादन घट्न गई आयात बढेकोप्रति प्रमुख शर्माको चिन्ता छ । ‘खेतीयोग्य जमिन मासिदै र बाझिदै गएको छ, जसबाट कृषिमा परनिर्भरता बढेको छ ।’ प्रमुख शर्माले भनेका छन् । यस खालको अवस्था न्यूनीकरण गर्न धानको उत्पादन वृद्धि गर्नुपर्ने शर्माको भनाई छ । ‘बाँझो रहेको हाम्रो जमिनमा खेती गर्नका लागि अभियान नै चलाईनुपर्दछ ।’ उनले आफ्नो शुभकामनामा भनेका छन्,‘तराईका फाँटहरूमा धान उत्पादनलाई प्राथमिकता दिई किसानहरुलाई यसप्रति आकर्षित गराउँनुपर्दछ ।’

नेपालको संविधानमा खाद्यलाई नागरिकको मौलिक हकका रुपमा व्यवस्था गरिएको उल्लेख गर्दै प्रमुख शर्माले नागरिकको यो हक सफलतापूर्वक कार्यान्वयन गर्न सरकारले दिगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई प्राथमिकता राखी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । उनले धानको पकेट क्षेत्र नै मानिएको नेपालमा प्रशस्त सिँचाई सुविधा विस्तार, धान बालीको अनुसन्धान र विकास, समयमै, बीऊ तथा मलको उपलब्धता, किसानलाई आधुनिक प्रविधिबारे ज्ञान तथा शीप प्रदान गर्ने काममा तीनै तहका सरकार तथा यससंग सम्बन्धित सरोकारवालाको ध्यान जानुपर्ने बताएका छन् ।

बागमती प्रदेश तथा समस्त देशबासीलाई धान दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै प्रदेश प्रमुख शर्माले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउँन सबैलाई यो दिवसबाट प्रेरणा मिलोस् समेत भनेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको