हेटौंडाको सडक विस्तार गर्ने उपमहानगरपालिकाको ‘बोल्ड डिसिजन’
मकवानपुर । हेटौंडाको सडक विस्तारका विषयमा राजनीतिक दलहरुले फरक फरक धारणा राखिरहेका बेला हेटौंडा उपमहानगरपालिकाले सडक विस्तार गर्ने निणर्य गरेको छ ।
शनिबार उपमहानगरपालिकाको १३ औं बैठकले हेटौंडा बजार क्षेत्रको सडक विस्तार गर्ने सर्वसम्मत निणर्य गरेको हो । सडक विस्तारका सम्बन्धमा डिभिजन सडक कार्यालय, हेटौंडाले गत १० असारमा राष्ट्रिय दैनिक पत्रिकामा सूचना नै प्रकाशन गरेको थियो । हेटौंडाको सडक दायाँबायाँ २५-२५ मिटर विस्तार गर्ने चर्चा लामो समयदेखि चल्दै आइरहेकाले यस्ता सूचना आउँदा अहिले पनि आम नागरिकमा सडक विस्तारबारे अझै ढुक्क भने छैनन् । तर उपमहानगरपालिकाले लिएको सर्वसम्मत सडक विस्तार गर्ने निणर्यको भने महत्वपूणर् अर्थ देखिन्छ । यसअघि यसरी निणर्य गरी स्थानीय सरकारले सडक विस्तारका सम्बन्धमा औपचारिक धारणा सार्वजनिक गरेको थिएन । दलहरुका बीचमा चुनावी राजनीतिका कारण सडक विस्तार गर्न नहुने भन्नेमा प्रायःएकमत जस्तै देखिन्थ्यो । तर उपमहानगरपालिकाले सडक विस्तारका विषयमा अब यसबाट प्रभावित हुनेसंग समन्वय तथा आवश्यक सहजीकरण गर्ने गरी बोल्ड निणर्य लिएपछि अब केही प्रगति होला भन्ने अपेक्षा पुनः पलाएको छ ।
सडक डिभिजन हेटौंडाले ३५ दिनभित्र सडकको दायाँबायाँ २५-२५ मिटर भित्र रहेका घर टहरा हटाउन सूचना जारी गरेको करिब सातादिनभित्रै उपमहानगरपालिकाले साथ दिदै सडक विस्तार गर्ने निणर्यमा पुगेको हो ।
हेटौंडाको सडक विस्तारका विषयमा परेको मुद्दामा सर्वोच्च अदालतको मिति २०७८-९-१९ को उत्प्रेरण आदेशमार्फत् सडकको बीचबाट २५-२५ जग (७५-७५ फिट) कायम भएको उल्लेख भएको थियो । अदालतका अनुसार पनि अब सडकलाई फराकिलो पार्दै प्रदेश राजधानी हेटौंडाको विकासका लागि महत्वपूणर् निणर्य लिने अवसर नेतृत्वलाई आएको हो । तर सडक विस्तार हुँदा हेटौंडामा लामो समयदेखि लाखौं रुपैंया लगानी गरेर व्यापार व्यवसाय गरिरहेकाहरुले आफूलाई आर्थिक नोक्सानी हुँदै बताउँदै आएका छन् । चुनावका बेला उम्मेदवार तथा तिनका दलले हेटौंडाको मुख्य बजारक्षेत्रको सडक विस्तार नगरी बाइपासबाट मुख्य राजमार्ग कायम गराउँने वचन दिएर भोट माग्ने तर चुनाव सकिएपछि आफूहरुको समस्याबारे चासो नदिएको व्यवसायीको गुनासो रहँदै आएको छ ।











































