प्रकृति र संस्कृतिको विकासका लागि राक्सिराङको अशोकबाटिकामा सीता र त्रिजटाको मुर्ति प्रतिष्ठापित
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३, पलाँसेमा सीता र त्रिजटाको मूर्ति प्राण प्रतिष्ठा गरिएको छ ।
गुरु पूणर्िमाको सन्दर्भमा गरिएको मुर्ति प्राण प्रतिष्ठा कार्यक्रममा प्रमुख शर्माले सीता र त्रिजटाको मुर्ति स्थापना गरिएसंगै धार्मिक पर्यटकीय विकास हुने बताए ।
करिब सय वर्ष पुरानो अशोकको छहारीमा सीता र त्रिजटाको मुर्ति स्थापना गर्न डिभिजन वन कार्यालय, राप्ती, मनहरीको आयोजना र र स्थानीय भर्याङ कालिका सामुदायिक वनको व्यवस्थापन र राक्सिराङ गाउँपालिकाको समन्वयमा मुर्ति स्थापना तथा प्राण प्रतिष्ठा गरिएको हो ।
जानकी मन्दिर जनकपुरधामबाट प्राप्त फूलमाला, पाती, प्रसादका साथै प्रसिद्ध दुधमती नदिबाट ल्याईएको जल सेचन गरिएको थियो ।
यहाँका अशोकलाई संरक्षण गर्दै यो क्षेत्रमा हजारौ अशोक रोपण गरेर भविष्यमा अशोकको अध्ययन र बीउ संकलन केन्द्रको रुपमा स्थापित गर्ने अभियानमा आफूहरु लागिपरेको डिभिजन वन कार्यालय, राप्ती, मनहरीका प्रमुख विष्णप्रसाद आचार्यले बताए । उनका अनुसार यो स्थानलाई प्रकृति र संस्कृतिको संगम स्थलको एक अंशको रुपमा विकास गर्न सकिनेछ ।
प्रतिष्ठापित सीता र त्रिजटाको मुर्ति मकवानपुरगढी ७ सुकौराका हर्कबहादुर ब्लोनले निर्माण गरेका हुन् । सो कार्यक्रममा मुर्ति निर्माण गरेको प्रसंसा गर्दै उनलाई सम्मान गरियो । उनले साँढे दुई महिना लगाएर यी मुर्ति मूर्ति बनाएका हुन् ।
प्राण प्रतिष्ठापन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, डिभिजन वन अधिकृत शिव सापकोटा, प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गतौंला, ‘क्लिन जनकपुर, ग्रिन जनकपुर,’ गंगा साँगर सफाइ अभियान्ता सुरेश शर्मा लगायतको उपस्थिती थियो ।











































