लम्पी स्किन नियन्त्रणका लागि बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट साउन २५ देखि साताव्यापी खोप अभियान
मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन महामारी नियन्त्रणका लागि यही साउन २५ गतेदेखि ३१ गतेसम्म साताव्यापी खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
मन्त्रालयले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दैै अभियान अवधिमा प्रदेशका १३ जिल्लाका विभिन्न स्थानीय तहसँगको समन्वयमा विज्ञ केन्द्रमार्फत खोप लगाइने जानकारी दिइएको हो ।
प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठले लम्पी स्किनले महामारीको रुप लिइरहेको अवस्थामा पशुमा संक्रमण फैलिन नदिनका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको बताए ।
बागमती प्रदेशभर करिब २ लाख ५ हजार पशु यस रोगबाट प्रभावित भएको पाइएको छ । हालसम्म करिब ६२ सय पशुको यस रोगबाट मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । स्थानीय तह र मन्त्रालयले गरी हालसम्म १ लाख ३३ हजार पशुलाई यस खोप लगाइसकिएको पनि जनाइएको छ ।
मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार खोप अभियान अन्तर्गत ५० हजार खोप लगाइनेछ । खोप लगाउनका लागि भ्याक्सिनेटरहरु नियुक्त गरिसकिएको र खोप समेत विज्ञ केन्द्रले खरिद गरिसकेको उनले जानकारी दिए ।
खोप अभियान प्रदेशको ११९ वटा स्थानीय तहमध्ये ९१ वटामा सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सचिव पाण्डेका अनुसार ७० हजार गाईभैंसीलाई लम्पी स्किनविरुद्धको खोप दिने तयारीमा मन्त्रालय छ ।
सबै पशुलाई खोप लगाउन नसके पनि अभियान सञ्चालन गरेर सन्देश दिने मन्त्रालयको चाहना भएको पाण्डेको भनाई छ । उनका अनुसार प्रदेशभित्रका सबै जिल्लामा गोठमै गएर खोप लगाइने छ । एउटा पशुलाई खोप लगाउने प्राविधिकले रु.२० पाउने छन् ।
एउटा पशुलाई खोप लगाउँदा खोपको मूल्य रु.एक सय ३० हाराहारी पर्न आउँछ । यो अभियानमा प्रदेशले करिब रु. एक करोड खर्च गर्न लागेको सचिव पाण्डेले जानकारी दिए ।
बागमती हालसम्म प्रदेशमा लम्पी स्किनबाट कूल सङ्क्रमित पशुको सङ्ख्या दुई लाख चार हजार नौ सय ८८ पुगेको छ । जसमध्ये सबैभन्दा बढी दोलखामा ३३ हजार छ सय २४ छन् भने कम ललितपुरमा एक हजार आठ सय ८८ छन् । सक्रिय सङ्क्रमित पशुको सङ्ख्या एक लाख १० हजार चार सय ४० रहेको पाण्डेले जानकारी दिए । जसमा काभ्रेपलान्चोकमा सबैभन्दा बढी २७ हजार दुई सय ९९ र ललितपुरमा सबैभन्दा कम छ सय ५१ छन् । सङ्क्रमणमुक्त भएका पशुको सङ्ख्या ८८ हजार दुई सय ५७ पुगेको जनाइएको छ ।
लम्पी स्किनका कारण हालसम्म ६ हजार दुई सय ९१ पशु मरेका छन् । जसमध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी आठ सय ९६ छन् भने सबैभन्दा कम ललितपुरमा एक सय ४५ छन्।
हालसम्म एक लाख ३२ हजार नौ सय पशुलाई खोप लगाइ सकिएको जनाइएको छ ।











































