पालिका कार्यालय धाउनुपर्ने सेवा वडा तहबाटै प्रबन्ध गर्दै हेटौंडा उपमहानगरपालिका
मकवानपुर । हेटौंंडा उपमहानगरपालिकाले पालिकाबाट प्रदान गर्दै आएको सेवा वडातहबाट प्रवाह गर्न आवश्यक जनशक्ति व्यवस्थापन गर्ने तयारी गरेको छ । पालिकाले वडामार्फत् सेवा छिटोछरितो बनाउने अभियानलाई तीव्रता दिएको हो ।
पालिकाले अब २० लाख रुपियाँ बराबरको योजनालाई वडा तहबाट लागत इस्टिमेट तयार, सम्झौता, कार्य अनुगमन तथा मूल्याङ्कन गरी फछ्र्यौटसम्म गर्ने गरी प्राविधिक र लेखाको कर्मचारी व्यवस्थापन गर्न लागेको जनाइएको छ ।
आर्थिक वर्ष २०७८/०७९ सम्म पाँच लाख रुपियाँ बराबरको योजना वडाबाट फछ्र्यौट गर्ने अधिकार प्रदान गर्दै आएको पालिकाले गत आव २०७९/०८० देखि उक्त अधिकारलाई २० लाख रुपियाँसम्म बढाएको थियो । त्यससंगै प्राविधिक जनशक्ति व्यवस्थापन गरेको पालिकाले चालु आवदेखि लेखाको कर्मचारीसमेत वडा–वडामा पठाउन थालेको हो ।
बुधबार बसेको ३० औं कार्यपालिका बैठकले खर्च केन्द्रसम्बन्धी जनशक्ति व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको हो । यसअन्तर्गत् पालिकाले अब कम्तिमा दुईवटा वडाको लेखा व्यवस्थापन गर्ने गरी एक जना लेखा अधिकृतको व्यवस्थापन गर्ने पालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । उनका अनुसार यसलाई क्रमशः बढाएर १९ वटै वडामा एक÷एक जना लेखाको कर्मचारी व्यवस्थापन गरिनेछ ।
‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ भन्ने गणतन्त्र स्थापनापछिको नारालाई सार्थक बनाउन यसले ठूलो भूमिका खेल्ने प्रवक्ता न्यौपानेले बताए । ‘वडामा प्राविधिक र लेखाको कर्मचारी व्यवस्थापनसंगै योजनाहरुको लागत इस्टिमेट तयार, सम्झौता, अनुगमन, कार्य सम्पन्नपश्चात् मूल्याङ्कन र भुक्तानीसमेत वडाबाटै हुन्छ’, प्रवक्ता न्यौपानेले भने । उनका अनुसार योजनाको भुक्तानीको लागि धेरैपटक नगरपालिका धाउनुपर्ने बाध्यताबाट वडाबासीहरु मुक्त हुने भएका छन् ।
यससंगै बुधबारको बैठकले २०७३ फागुनसम्म नगरपालिका कार्यालयबाट साविक १ देखि ११ नम्बर वडाबाट उपलब्ध गराइएका सिफारिसहरुको प्रतिलिपिहरुको ढड्डा सम्बन्धित वडाहरुमा पठाउने निर्णय गरेको छ । यसले साविक गाविसबाट नगरमा मिसिएका र स्थान परिवर्तन भएका वडाहरुको प्रतिलिपि लिन पालिका गएर ढड्डा उतार गरिरहनुपर्ने झन्झटको अन्त्य भएको प्रवक्ता न्यौपानेले बताए ।
चालु आवको स्थानीय दररेट विश्लेषण स्वीकृत गरेको बैठकले २० लाख रुपियाँभन्दा ठूलो परियोजनाहरुमा दुई प्रतिशत कन्टेन्जेन्सी रकम राख्ने, शिक्षा समन्वय इकाई बसेको सिद्धार्थ माविको भवन खाली गर्न पत्राचार गर्ने र पालिकामा सेवा करारमा कार्यरत् कर्मचारीहरुको बीमा गर्ने निर्णय गरेको छ ।
यसैगरी, आवधिक योजना तयार गर्ने लागेको हेटौंडा उपमहानगरले उक्त कार्यलाई सहजीकरण गर्न कार्यदल गठन गर्ने सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । कार्यपालिका बैठकले हेभी सवारी चालकको रुपमा कार्यरत रही केही दिनअघि कामको सिलसिलामा निधन भएका कर्मचारी सञ्जु लोप्चनको परिवारलाई पाँच लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाइएको छ ।











































