भीमफेदी गाउँपालिकाका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने

मञ्जु पुडासैनी
२०८० श्रावण ३०, मंगलवार २०:४३

मकवानपुर ।  मकवानपुरको भीमफेदी गाउँपालिकामा बागमती प्रदेशमै पहिलो पटक अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने भएको छ । नेपालमा यसरी स्थानीय सरकारले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आब गराइने मध्य दोस्रो स्थानीय तह भीमफेदी गाउँपालिका हो ।

भीमफेदी गाँउपालिकाको गाँउसभाबाट स्वीकृत कार्यक्रम अनौपचारिक तथा स्वरोजगार श्रमिकको भविष्य , सामाजिक सुरक्षा, सहकार्य, योगदान र सहभागिताको लागि आज भीमफेदी गाउपालिका र योगदानमा आधारित सामाजिक सुरक्षा कोष बिच सम्झौता भएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।
अब भने भीमफेदी गाउँपालिकामा बसोवास गर्नु हुने अनौपचारिक तथा स्वरोजगार श्रमकिहरुले कोषमा आबद्धता भएसंगै कोषबाट उपलब्ध हुने सेवा सुविधाहरु प्राप्त गर्नेछन् । चालु आर्थिक वर्षमा अनौपचारिक क्षेत्रमा काम गर्ने एक सय जनालाई यो कार्यक्रममा समेट्ने लक्ष्यराखेको अध्यक्ष लामाले बताए । कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद ज्ञवाली र गाउँपालिकाका अध्यक्ष लामाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गरी स्वरोजगार र अनौपचारिक क्षेत्रमा रहेका व्यक्तिहरूको कोषमा आवद्धता गराउने प्रक्रिया औपचारिक रुपमा गर्ने कार्यक्रम अन्तरगत भीमफेदी गाउँपालिकामा काम गर्ने श्रमिकका लागि यो सम्झौता गरिएको हो । सुरुवाती अवस्थामा घरेलु तथा कृषि क्षेत्रमा काम गर्ने श्रमिक निर्माण क्षेत्र र यातायात क्षेत्रमा काम गर्ने श्रमिक लगायतलाई आवद्ध गराउने योजना रहेको अध्यक्ष लामाको भनाई छ । सरकारले तोकेको पारिश्रमिकलाई आधार मानेर त्यसमा योगदान गर्ने, श्रमिकलाई पारिश्रमिकको ९.३७ प्रतिशत रकम थप गरी कोषमा जम्मा गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनले बताए ।

अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार रहेका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ सरकारले स्वीकृत गरेको छ । कोषले शुरुवाती अवस्थामा घरेलु श्रमिक, कृषि क्षेत्रमा काम गर्ने श्रमिक, निर्माण क्षेत्र र यातायात क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई आबद्ध गराउने योजना अनुसार गाउँपालिकाको माध्यमबाट आबद्धता गराउन सुरु गरिएको हो । सरकारले तोकेको पारिश्रमिकलाई आधार मानेर त्यसमा योगदान गर्ने, स्वरोजगार श्रमिकलाई पारिश्रमिकको ३१ प्रतिशत हुन आउने रकम कोषमा जम्मा गर्ने, ३ गुणासम्म जम्मा गर्नसक्ने व्यवस्था गरेको छ।

उक्त व्यवस्था अन्तर्गत श्रमिकहरुलाई औषधि उपचार,स्वास्थ्य, मातृत्व सुरक्षा, दुर्घटना, अशक्तता, आश्रित परिवार सुरक्षा योजनालगायत ६० वर्षपछि बाँचुन्जेल पेन्सनको व्यवस्था गरिएको छ । अनौपचारिक क्षेत्रमा श्रमिकहरुको लागि न्यूनतम् आधारभूत पारिश्रमिक २० प्रतिशत हुन आउने गरी मासिक रुपमा कोषमा जम्मा गरेपछि औपचारिक क्षेत्रका श्रमिक सरह सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ । कोषमा अहिलेसम्म ६ लाख २५ हजारभन्दा बढी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । कोषले उपलब्ध गराउने सुविधाहरु कतिपय असिमित दायित्व पनि रहेको छ। अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गर्नु चुनौतिपूर्ण रहेको काममा भीमफेदी गाउँपालिकाको साथ र सहयोगबाट सम्भव भएको हो ।

कोषले पालिकाहरुसँग सम्झौता गर्ने र त्यो भित्र आबद्ध भएका विभिन्न क्षेत्रमा काम गरिरहेका अनौपचारिक श्रमिकहरु र स्वरोजगारमा रहेका व्यक्तिहरुलाई पहिचानको आधार, परिचय दिने आधार र सम्भव भएसम्म स–योगदान गरेर त्यसको व्यवस्थापन पनि पालिका स्तरबाटै गर्ने योजना रहेको बनाएको छ । कोषले यसअघि स्याङ्जाको फिदिमखोला गाउँपालिकासँग सम्झौता गरेको छ ।

पालिकाले २०७६ सालदेखि पालिका अन्तर्गत कार्यरत अनौपचारिक श्रमिकहरुलाई योगदानमा सामाजिक सुरक्षा योजनाहरु उपलब्ध गराइरहेको योजनालाई सामाजिक सुरक्षा कोष अन्तर्गत उपलब्ध गरायो उद्देश्यले सम्झौता गरेको हो। औपचारिक क्षेत्रका श्रमिकहरुको अनिवार्य आवद्धताअनुसार अनिवार्य आबद्धता गर्ने कानूनी प्रक्रिया र श्रमिकलाई दिनुपर्ने सेवा सुविधामा कोष प्रतिबद्ध रहेको जनाइएको छ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको