बागमती प्रदेशसभा डेढ महिनादेखि ठप्प !

लोकखबर
२०८० श्रावण ३२, बिहीबार ११:२९

मकवानपुर । गत असार २१ गते अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बागमती प्रदेशससभाको बैठक अहिलेसम्म बसेको छैन ।
चालु आर्थिक वर्ष २०८०/८१ का लागि बजेट पारित गरेपछि स्थगित भएको बैठक कहिले बस्छ भन्ने टुङ्गो नभएको हो ।
डेढ महिनादेखि सभा नचल्दा नागरिकको गुनासो सुनाउँन र आवश्यक कानून निर्माण गर्न नपाइएको प्रमुख प्रतिपक्षी नेकपा एमालेको भनाई छ।
गत असार १२ गतेबाट बजेटमाथिको छलफलका लागि प्रदेशसभाको बैठक आव्हान गरेपनि सभाको प्रमुख प्रतिपक्षी दल एमाले र अरु राप्रपा र नेमकिपाले लगातार चार वठा प्रदेशसभा बैठक अवरुद्घ गरेका थिए । सरकारले सर्वदलीय सहमती गरी बहुमतबाट बजेट पारित गरेपश्चात असार २१ पछि प्रदेशसभाको बैठक बस्न नसकेको हो ।

बैठक सञ्चालन नुहँदा सदनमा आवश्यक नयाँ विधेयक दर्ता गरी कानून निर्माण गर्ने प्रकृया अवरुद्घ भएको छ । बजेट पारित गरेपछि प्रदेशसभा बैठक आव्हान नगरेको भन्दै एमालेले सरकारको ध्यानाकर्षण समेत गराइसकेको छ ।

चुनावपछिको आठ महिनामा २ वटा अधिवेशन सञ्चालन भएका छन् । यो अवधिमा जम्मा ४६ वटा बैठक बसेको पाइएको छ । गत पुस १८ देखि सञ्चालन भएको प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा जम्मा १८ वटा बैठक बसेको थियो भने दोस्रो अधिवेशनमा २८ वटा बैठक बसेको हो ।

यो अवधिमा प्रदेशसभाको बैठकबाट प्रदेश सरकारका तर्फबाट दर्ता भएका ४ वटा विधेयक पारित भयो भने सरकारको चालु आर्थिक वर्षको बजेट पारित गरेको थियो । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ४ वटा विधेयक पारित गरिएको थियो । प्रदेशसभाबाट २ वटा अध्यादेशको प्रतिस्थापन र २ वटा विधेयक पारित भए । प्रदेशसभामा हाल नयाँ विधेयक दर्ता नभएको प्रदेशसभाका सचिव कृष्णहरी खड्काले बताए ।

चालु अधिवेशनबाट निजामती कर्मचारी सम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित विधेयक पारित गरी ऐनको रुपमा कार्यान्वयन भइसकेको छ भने चिठ्ठा व्यवस्थापन सम्बन्धी विधेयक प्रमाणीकरण नगरी प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट प्रदेशसभामै फिर्ता पठाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको