शनिबार खण्डग्रास चन्द्रग्रहण, राति १ बजेर २० मिनेटबाट सुरु
मकवानपुर । कोजाग्रत पूर्णिमाको रात लाग्ने खण्डग्रास चन्द्रग्रहण शनिबार राति १ बजेर २० मिनेटबाट लाग्नेछ । यसको अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा पुग्ने जनाइएको छ । राति २ बजेर ३८ मिनेटमा ग्रहण सकिनेछ । खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भागबाट देख्न सकिने बीपी कोइरालाल मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी तथा विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले जानकारी दिए । नेपालका साथसाथै युरोप, अफ्रिका र एसियाको पूरै भूभागबाट र अस्ट्रेलिया तथा उत्तर र दक्षिण अमेरिकाको केही स्थानबाट देखिने उनले बताए । खण्डग्रास चन्द्रग्रहणको कुल अवधि १ घण्टा १८ मिनेटको हुनेछ ।
नेपाल एस्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार कोजाग्रात पूर्णिमाका दिन लाग्ने पृथ्वीको सघन छायाले अधिकतम समयमा चन्द्रमाको ६ प्रतिशत मात्रै ढाक्नेछ ।
गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमास अनुसार कार्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पनि पृथ्वीलाई परिक्रमा गरिरहेको हुन्छ । यस क्रममा पृथ्वी जब सूर्य र चन्द्रमाको बीचमा पर्न जान्छ, तब पृथ्वीको छाया चन्द्रमामा पर्दछ । चन्द्रमाको आफ्नो प्रकाश नभएका कारण पृथ्वीको उक्त छायाले चन्द्रमा छेकिन्छ, जसलाई चन्द्रग्रहण भनिन्छ ।
सूर्य, पृथ्वी र चन्द्रमा पूर्णिमा वा औंसीको समयमा एउटै सरल रेखामा पर्न सक्ने भए पनि सबै पूर्णिमा चन्द्रग्रहण सम्भव हुँदैन किनभने चन्द्रमाको कक्षीय धरातलले पृथ्वीको कक्षीय धरातलमा करिब ५ डिग्रीको कोण बनाएको हुन्छ । चन्द्रमाको कक्षले पृथ्वीको कक्षीय धरातललाई दुई बिन्दुमा काटेको हुन्छ । यी दुई बिन्दुलाई प्राचीन ज्योतिष शास्त्रमा राहु र केतु नाम दिइएको छ ।











































