हेटौंडा उपमहानगरमा व्यवसाय दर्ता शिविर, तिन बर्षको शुल्क तिरेर दर्ता गर्न पाउने सुविधा
मकवानपुर । करको दायरा बाहिर रहेर व्यवसाय गरिरहेका हेटौंडा उपमहानगरपालिका क्षेत्रका व्यवसायीका लागि व्यवसाय दर्ता शिविर सञ्चालन गरिएको छ ।
हेटौंडा बजार क्षेत्र भन्दा बाहिर वडाहरुमा रहेर बिना दर्ता व्यवसाय गरिरहेका व्यवसायीहरुका लागि सोमबारदेखि उपमहानगरका वडाहरुमा व्यवसाय दर्ता शिविर सञ्चालन गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका–१९ बाट सुरु भएको शिविरसबै वडामा सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ ।
उपमहानगरको राजश्व परामर्श समितिले अनुगमका क्रममा वडाहरुका दर्ता बिना नै व्यवसाय सञ्चालन गरी राजश्वको दायरा बाहिर रहेको पाएपछि व्यवासय दर्ता शिविर सञ्चालन थालिएको संयोजक सविन न्यौपानेले बताए ।
उनका अनुसार आन्तरिक राजश्व र घरेलु कार्यालयमा दर्ता भएर व्यवसाय सञ्चालन गरेपछि उपमहानगरमा सुचिकृत नभएका व्यवसायीलाई दर्ताको लागि पछिल्लो तिन बर्षको शुल्क तिरेपछि व्यवसाय दर्ताको सुबिधा उपमहानगरले दिएको छ । अब व्यवसाय दर्ताको समय जति भएपनि पछिल्लो तिन बर्षको शुल्क तिरेर उपमहानगरमा व्यवसाय दर्ता गर्न पाउँने सुविधा उपमहानगरले दिएको उनले बताए ।
व्यवसाय दर्ता शिविरको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले सुरुवात गरेकी हुन् । १९ नम्बर वडा कार्यालयमा आयोजित शिविरको उद्घाटनमा नगर प्रमुख लामाले दर्ता बिनै व्यवसाय गरिरहेका ६ जना व्यवसायीलाई दर्ता प्रमाणपत्र हस्तान्तरण गरेकी हुन् । प्रमाण पत्र हस्तान्तरण गर्दै नगर प्रमुख लामाले व्यवसाय गरेपछि बैधानिक ढंगबाट गर्न जरुरी रहेको बताइन् । व्यापार गर्ने तर दर्ता नगरी करको दायरामा नआई गर्दा भोलि समस्या पर्न सक्ने भन्दै सबैलाई व्यवसाय दर्ता गरेर काम गर्न आग्रह गरिन् । नगर प्रमुख लामाले १९ नम्बरमा ६ जना व्यवसायीलाई दर्ता प्रमाण हस्तान्तरण गरेकी थिइन् । शिविरमा ९ जनालाई प्रमाण पत्र वितरण गरिएको छ भने १५ वटा व्यवसाय दर्ताको प्रकृयामा रहेको वडा अध्यक्ष नरनाथ सुवेदीले जानकारी दिए । उनका अनुसार व्यवसाय दर्ता प्रकृयाका लागि सम्पर्कमा आउनेको संख्या बढ्दै गएको छ ।
शिविर उद्घाटन कार्यक्रममा हेटौंडा १९ का अध्यक्ष नरनाथ सुवेदी, हेटौंडा१ का वडा अध्यक्ष सविन न्यौंपाने, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, राजश्व शाखा प्रमुख श्यामकृष्ण श्रेष्ठ, १९ नम्बर वडा कार्यालयका सचिव राजेन्द्रनाथ पोखरेलको आतिथ्यता रहेको थियो ।











































