हलसंग विमति राख्दै ‘दिमाग खराब’ प्रदर्शन स्थगित
मकवानपुर । चलचित्र हलसंग विमति राख्दै गत शुक्रबारदेखि प्रर्दशनमा आएको चलचित्र ‘दिमाग खराब’ प्रदर्शन स्थगित गरिएको छ । चलचित्र निर्माण कम्पनी सिनेमा आट्र्सले हलहरूले नेपाली चलिचत्रलाई सधैँ अन्यायपूर्ण व्यवहार गर्ने गरेको कारण यसको प्रतिवाद गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
विज्ञप्तिमा भनिभएको छ,‘विगतदेखि हामी नेपाली चलचित्र निर्माताले प्रदर्शकहरूबाट सधैँ अन्यायपूर्ण व्यवहार खेप्दै आएका छौं । विदेशी चलचित्रलाई बिना तर्क प्रशस्तै शोहरू दिने र दर्शकको अत्यधिक चासो भएको र दर्शकहरूले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक शो नदिने प्रचलन पुरानै हो ।’ पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने शेयर बाँडफाँड ५०/५० प्रतिशत हुन्छ । तर, तेस्रो हप्तादेखि निर्मातालाई ३५ प्रतिशत र प्रदर्शकलाई ६५ प्रतिशत शेयर बाँडिने कुरा पनि हामीले जाहेर गर्दछौँ । र, यो अन्यायपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले प्रतिवाद गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा जबसम्म विदेशी चलचित्र र नेपाली फिल्मलाई बराबर शेयर बाँडफाँड हुँदैन तबसम्मको लागि नेपालमा फिल्म प्रदर्शन रोक्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । हलमा रिलिज गर्ने वातावरण नरहे दर्शकलाई अन्य कुनै माध्यमबाट फिल्म देखाउने समेत विज्ञप्तिमा उल्लेख छ ।











































