भोलिबाट ‘हेटौडा कप एशियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता’ हुँदै

लोकखबर
२०८० मंसिर १२, मंगलवार १०:५६

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा भोलि १३ मंशिरबाट नेपालमै पहिलो पटक ‘हेटौडा कप एशियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ हुने भएको छ ।

मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा १७ मंशिरसम्म पाँच दिन सञ्चालन हुने प्रतियोगिताको आवश्यक तयारी पूरा भएको मंगलबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । विगतमा राष्ट्रियस्तरमा यस खालको प्रतिष्पर्धा हुँदै आएपनि यो पटक विदेशी खेलाडीहरुको समेत सहभागितामा बुद्धिचाल हुन लागेको हो ।

प्रतियोगितामा एसियाका विभिन्न देश नेपाल, भारत, बंगलादेश, श्रीलङ्का लगायतका खेलाडीले भाग लिनका लागि नाम दर्ता गरेका छन् । संघ अध्यक्ष मनोज श्रेष्ठका अनुसार भारतबाट ६०, बंगलादेशका ६ र श्रीलङ्काका १ जना खेलाडीले अहिलेसम्म नाम दर्ता गराएका छन् । प्रतियोगितामा मकवानपुरका २ सहित नेपालबाट ४० जना बढी खेलाडीको सहभागिता रहने आयोजकको अपेक्षा छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित होटल सामनामा हुने प्रतिष्पर्धामा १२० जना खेलाडीले भाग लिने अनुमान गरिएको छ ।
प्रतियोगितामा स्विस लिग प्रणाली अन्तर्गत ९ खेल खेलिने छ । जसमा १ घण्टा ३० मिनेट र ३० सेकेन्ड थप पहिलो चालबाटै हुने पत्रकार सम्मेलनमा सहभागी बुद्धिचाल संघका केन्द्रिय महासचिव एवम् प्रतियोगिताका निर्देशक धरम लामाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख २५ हजार, दोस्रो हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ४० हजार, चौथो हुनेलाई २५ हजार, पाँचौं हुनेलाई २० हजार, छैठौं देखि दशौंसम्मलाई १५ हजार, एघारौं देखि पन्ध्रौंसम्मलाई ११ हजार नगद पुरस्कार दिइने संघले जनाएको छ ।
प्रतियोगितामा सबै गरी कुल नगद पाँच लाख ८७ हजार पाँच सय रुपैंया पुरस्कार राशी लाग्ने आयोजकले जनाएको छ भने कार्यक्रमका लागि रु.६१ लाख १२ हजार लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप), बागमती प्रदेश युवा परिषद् बाटआर्थिक सहयोग प्राप्त हुनेछ ।
नेपालको सबै जातजाति, धर्म, संस्कृति ,लिङ्ग, भूगोल शिक्षालय र क्लबबाट प्रतिनिधित्व गरी नेपाली बुद्धिचाल खेलाडीहरूलाई आफ्नो खेल कौशलता प्रस्फुटन गर्न र नेपाली बुद्धिचाल क्षेत्रलाई व्यवसायिकरण गर्न प्रतियोगिताले सघाउ पुर्‍याउने आयोजकको विश्वास छ ।

हेटौडामा २०५६ साल देखि नै विभिन्न नाममा जिल्लाव्यापी राष्ट्रव्यापी टिम बुद्धिचाल प्रतियोगिताहरु आयोजना हुँदै आइरहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको