कांग्रेस बागमती प्रदेश समितिको पहिलो सम्मेलन पुस ७ मा
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सम्मेलन आगामी पुस ७ गते गर्ने निणर्य भएको छ । कांग्रेस बागमती प्रदेश कार्य सम्पादन समितिको विहीबार काठमाडौँमा बसेको बैठकले सम्मेलनको मिति तय गरेको हो । प्रदेश कार्यसमिति गठनपछि पहिलोपटक बागमती प्रदेशको सम्मेलन हुन लागेको हो ।
कांग्रेस बागमती प्रदेश प्रवक्ता तिलक रुवालीका अनुसार कार्यसम्पादन समितिको बैठकले सम्मेलन तयारीका लागि विभिन्न समितिहरु गठन गरेको छ । प्रदेश सभापति ईन्द्रबहादुुर बानियाँको संयोजकत्व तथा सबै पदाधिकारी सदस्य रहेको मूल आयोजक समिति गठन गरेको छ ।
यस्तै, राजनीतिक प्रस्ताव तयारी उपसमिति संयोजक उपसभापति चन्द्र महर्जन, आर्थिक व्यवस्थापन उपसमिति संयोजक उपसभापति मोहन बस्नेत, सांगठनिक प्रस्ताव तयारी उपसमिति संयोजक महामन्त्री कन्चनचन्द्र वादे तथा सहसंयोजक सहमहामन्त्री ऋषिराम घिमिरे र आगामी वर्षको कार्यक्रम (क्यालेण्डर) तयारी उपसमिति संयोजक महामन्त्री राजु श्रेष्ठ रसहमहामन्त्री जीवन डंगोललाई तोकिएको छ ।
यस्तै, आर्थिक प्रतिवेदन तयारी उपसमितिमा कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, सम्मान उपसमिति सहमहामन्त्री ऋषिराम घिमिरे, खाना ब्यवस्थापन उपसमिति सहमहामन्त्री हरिशरण श्रेष्ठ, स्वागत उपसमिति सहमहामन्त्री जीवन डंगोल, प्रचारप्रसार उपसमिति प्रवक्ता तिलक रुवाली, शुभकामना प्रायोजन तथा रजिष्ट्रेशन उपसमिति निमा लामा, निमन्त्रणा उपसमिति दीपेन्द्र आचार्य रहने निणर्य गरिएको छ ।
यस्तै, प्रतिवेदन तयारी उपसमितिमा उज्जवलराम घिमिरे, हल, मञ्च, स्वागत गेट र व्यवस्थापन उपसमितिमा कोकी अस्तानी मगर, स्वास्थ्य शिविर डा. अमित सिं कार्की, सांस्कृतिक कार्यक्रम धनकुमारी थापा सरु, स्वयमसेवक परिचालन प्रज्वल दवाडी र रक्तदान कार्यक्रम संयोजकमा कुमार दुलाल चयन भएका छन् ।
पार्टी प्रदेश समितिको प्रदेश समितिको पहिलो सम्मेलन काठमाडौंमा कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा हुने जनाइएको छ ।











































