निकुञ्जको गैंडा मारेको आरोपमा मकवानपुरका चार जना समातिए

लोकखबर
२०८० मंसिर १५, शुक्रबार ०८:१७

मकवानपुर । चितवन राष्ट्रिय निकुञ्जभित्रका गैंडा मार्न संलग्न भएको आरोपमा मकवानपुरका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
निकुञ्जभित्र गैंडालाई खाल्डोमा पारेर मार्ने, खाग बिक्री गर्न खोज्ने तथा योजना बनाउने कार्यमा संलग्न ८ जनामध्ये चार जना मकवानपुरका रहेको प्रहरीको भनाई छ ।

नियन्त्रणमा लिइएका आठैजनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.सिन्धुप्रसाद ढुंगानाको उपस्थितिमा प्रहरीले सार्वजनिक गरेको हो ।

निकुञ्जभित्र खाल्डो खनेर त्यसलाई प्राकृतिक बनाई गैंडालाई पासोमा पारिएको अनुसन्धानबाट देखिएको छ ।

खाल्डो खनेर माथिबाट गैंडालाई मन पर्ने घाँसहरूले छोपी, प्राकृतिकजस्तो देखाएर पासोमा पारिएको अनुसन्धानका क्रममा देखिएको हो । यस्तो दृश्य देखेपछि गैंडा हिँड्दै आउँदा खाल्डोमा परेको हुनसक्ने देखिएको जनाइएको छ । चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले घटना भएको थाहा पाएलगत्तै अनुसन्धान सुरू गरिएको बताए ।

पक्राउ पर्नेमध्ये ६ जना गत मंसिर ९ चितवनको राप्ती-६ बाट पक्राउ परेका थिए । मकवानपुरको हेटौंडा-३ लेबट बस्ने रमेश खाती, राप्ती-११ थाकलटार बस्ने ४२ वर्षीय पाशाङ भन्ने आइते सिंह मोक्तान, मकवानपुरको राक्सिराङ-९ घर भई हेटौंडा-४ बस्ने ४४ वर्षीय शमशेर थिङ, मकवानपुरको मनहरी-६ नयाँ बस्ती बस्ने ५६ वर्षीय सिताराम थिङ, रोल्पाको सुनछहारी-६ फगाम घर भई हेटौंडा-५ बस्ने अर्जुन रोका र गोरखाको बारपाक घर भई भरतपुर महानगरपालिका-११ लामाटोल बस्ने ७७ वर्षीय घले भन्ने धनबहादुर गुरूङ पक्राउ परेका थिए ।
त्यस्तै, फेरि यसको दुई दिनपछि चितवनको कोराक घर भई राप्ती-११ थाकलटार बस्ने ४० वर्षीय उनबहादुर स्याङतान र मकवानपुरको मनहरी-७ ज्यामिरे घर भई माडीको बाँदरझुला बस्ने ५६ वर्षीय स्याङ्बो भन्ने ईन्द्रबहादुर तामाङ राप्ती-५ बाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमध्ये रमेश खाती, सीताराम थिङ गैंडा मार्न योजना बनाउने व्यक्ति रहेको अनुसन्धानका क्रममा पत्ता लागेको जनाइएको छ ।
आइते सिंह मोक्तान, उनबहादुर स्याङतान र ईन्द्रबहादुर तामाङ उनीहरूको उक्साहटमा गैंडा मार्न बन्दुक लगायतको हतियार बोकेर निकुञ्ज पसेको देखिएको छ । शमशेर थिङ, अर्जुन रोका र धनबहादुर गुरूङले खाग बिक्री वितरणको काम गरिरहेका थिए । उनीहरूलाई खाग बिक्रीका लागि तयारी गर्दैगर्दा पक्राउ गरिएको प्रहरीको भनाई छ ।

पक्राउ पर्नेमध्ये खातीलाई केही वर्षअघि पनि शंकास्पद भनेर निकुञ्जले पक्राउ गरेको थियो । तर त्यतिखेर उनीविरूद्ध प्रमाण पुग्न सकेको थिएन । अहिले पक्राउ परेका सबैलाई चितवन जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा निकुञ्जले गैंडा तस्करमा संलग्नहरूलाई नियन्त्रणमा लिएको हो । गिरोह करिब २० दिनको तयारीपछि गैंडाको खाग तस्कर गर्न सफल भएको अनुसन्धानबाट देखिएको छ ।

घटनापछि वन तथा वातावरण मन्त्रालयले मंसिर १ गते गठन गरेको छानबिन समितिले प्रतिवेदन पेश गरिसकेको जनाइएको छ । प्रतिवेदनमा निकुञ्जको कमजोरी, सेनाको कमजोरी, सुरक्षा व्यवस्था चुस्त कसरी गर्ने भन्ने विषयमा सुझाव दिइएको बताइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको