दुग्ध उत्पादक किसानको पक्षमा आवश्यक परे आन्दालनको नेतृत्व लिन तयार छु : न्यौपाने

लोकखबर
२०८० मंसिर १५, शुक्रबार २०:४५

मकवानपुर । दुग्ध बिक्री समस्या मिल्क होलिडेको बिषयमा पछिल्लो समय स्वतन्त्र ढंगबाट मकवानपुर नागरिक समाज समितिले सरोकारवाला विभिन्न निकायमा पुगी ध्यानाकर्षण गराउदै सहजीकरणको पहल गर्दै आइरहेको छ । यो समितिको संयोजकको भूमिकामा गुञ्जन बहादुर न्यौपाने रहेका छन् ।

समितिका संयोजक न्यौपाने मकवानपुरमा पछिल्लो समय किसानहरु दुग्ध बिक्री नहुँदा निकै मर्कामा परेको बताउँदै किसानहरुले महंगो ऋण काढेर गरेको लगानी तिर्न नसक्दा बित्तिय जोखिम बढेको बताउँछन् । यस दालको समस्या बढ्दै जाँदा कृषि तथा पशुपालन पेशाबाटै घाटा ब्यहोरी यसमा संलग्नहरु पलायन हुने स्थितिमा पुगेको उनी बताउँछन् । ‘किसानसंग न उन्नत नश्लका गाई-भैंसी छन, न उच्च गुणस्तरमा सस्तो दाना छन, न बैंकहरुले पत्ताएर सस्तो कर्जा वा वित्तिय सुविधा प्राप्ति गरेका छन, न उपचार र पालन प्रविधिमा प्राविधिक सहयोग उपलब्ध छ, न जोखिम बहन गर्न बीमाले किसानले खरिद गरे बराबरको मुल्यमा नै बीमा गरीदिन्छ । ’ दुग्ध किसान अनेक समस्यासंग जुध्नु परिरहेको उल्लेख गर्दै न्यौपाने भन्छन्,‘न सरकारी अनुदानको पहुँचमा किसान छन् न किसानको उत्पादनको बजारमा मुल्य सुनिश्चितता छ । अहिले किसानलाई कृषिमा लाग्नुस, दुग्ध उत्पादनमा लाग्नुस् भनेर हौसाउने नेता र सरकार जब किसानले बिना राज्यको सहयोग उत्पादन गर्छ अनि बजार नपाए पछि दुग्ध फ्याँक्न बाध्य भएको छ ।’

न्यौपाने आफूहरुले प्रदेश दुग्ध विकास बोर्ड, कृषि तथा पशुपंक्षी मन्त्री, मुख्य मन्त्री समेतलाई यस बिषयमा ध्यानाकर्षण गराएको बताउँदै उहाँहरुले आश्वासनमा गम्भिरता देखाएको बताउँछन् । तर, तर यो जटिल परिस्थिति नदोहोरिने गरी अबलम्बन गर्न सकिने उपायको बिषयमा कुनै छलफल र विकल्पहरुको प्रयत्न भएको नदेखिएको न्यौपानेको भनाई छ ।

उनले मकवानपुरका २२ हजार किसान परिवार, व्यवसायिक किसान, सहकारी संघ र उद्योगीहरुलाई सरकारी तबरबाट सम्बोधन नभएको बताउँदै यो सामान्य बिषय भएको जस्तो हल्का रुपमा लिएकोप्रति खेद प्रकट गरे । ‘मकवानपुरका किसानको एक दिन मिल्क होलिडे हुँदा पाँच-छ करोड को दुग्ध क्षति हुन्छ । के यो समान्य बिषय हो ?’ उनको प्रश्न छ,‘के सरकारले बनाउने कृषि र किसानको नीति यस्तै हो ?’
उनको राज्यसंग अरु पनि प्रश्न छ, ‘स्थानीय उद्योगीहरु बटर थन्क्याएर राख्ने कोल्ड स्टोर छैन । लौन सरकार भन्दा सरकारले खेल्ने भूमिका यस्तै हो ? अनि दुग्ध बिक्ने उधारो, किसानले दाना, औषधि,उपचार, पशु चाहिँ नगद ? यो व्यावसाय चलाउने सरकारी नीति यस्तै हो ?’
बागमती प्रदेश सरकारले पाउडर प्लान्ट बनाएर किसानको दुग्ध बिक्री समस्या समाधान गर्छु भनेको आफूूले सुनेको भन्दै उनी दुग्धबाट बनेका पाउडर र बटरहरु केही महिना अघि डिडिसीको स्टकबाट अखाद्य भनेर खाल्डोमा पुर्नुपरेको बिषय जगजाहेर छैनर भन्ने प्रश्न गर्छन् । ‘के सरकारी संस्थान जुन नेपालीको रगत पसिनाको करबाट चल्छ, त्यसमा यस्तो लापरवाही र मनलाग्दी गर्न मिल्छर ?’ उनी भन्छन् ।
आज कन्भर्सन गरिएका दुग्धबाट पाउडर र बटरले लामो आयु जरुर पाउने तर लागत बढी पर्ने यी उत्पादन बिक्रीको जिम्मा प्रदेश सरकार र सम्बन्धित निकायले लिन सक्छ त भन्ने उनको प्रश्न छ । ‘के पाउडर बटर नफ्याकिने ग्यारेन्टी गर्न सरकारले सक्छ ?’ उनको सोधाई छ ।
आजको आवश्यकता किसानहरुको व्यवसायिकरण भएको न्यौपानेको भनाई छ । बहुसंख्यक गाई-भैंसी पालन क्षमता अभिबृद्विमा सरकार लाग्नुपर्ने उनको भनाई छ ।

‘कति गाईभैंसी किसानको बैंकले फाईनान्सिङ गरेको छ ? कति पशु खरिद गरेकै मूल्यमा बिमा गरेका छन् ? अनि दुग्धको समर्थन मूल्य तोक्ने सरकारले किन दानाको मूल्य र गाईभैंसीको मूल्य जुन दुग्धको उत्पादन लागतसंग प्रत्यक्ष सम्बन्धित छ । यसको मूल्य बृद्विमा किन कुनै नियन्त्रण गर्दैन ?’ सरकार यसमा किन भूमिका खेल्दैन भनी उनी प्रश्न गर्छन् ।

उनी आफूहरुको कुरा सिधा र स्पष्ट भएको भन्दै किसानलाई सस्तो र बित्तिय सुविधामा गाईभैंसी उपलब्ध गराउने, खरिद मूल्यमा बिमा सुविधा दिने, निःशुल्क प्राविधिक सहयोग दिने, दानाको मूल्य घटाउने र अनुदान दिने, उत्पादित दुग्धको मूल्यमा नाफा हुने गरी समर्थन मूल्य तोक्ने र दुग्धको खरिद जिम्मा सरकारले लिने गरी कार्यविधि र नीति बनाउनु पर्ने बताउँछन् । एक परिवारले ३० हजार मासिक न्युनतम ३ गाई पालेर कमाउन सक्ने बनाउने गरी कृषिमा उद्यमशिलताको वातावरण ल्याउनुपर्ने उनको तर्क छ ।

यदि सरकारले केही दिनभित्र कुनै दिर्घकालीन ठोस कदम नचाल्ने हो भने किसान आन्दोलनको उद्गगम स्थल मकवानपुर बन्ने उनको चेतावनी छ । भन्छन्,-‘जुन सुकै मूल्य चकाउनु परेपनि पछि हट्ने छैन । यदि आन्दोलनका लागि आवश्यक परे नेतृत्व गर्न तयार रहेको छुु ।’ तर मकवानपुरका किसानको आसुँले पोल्ने भन्दै स्थानीय सरकारहरु पनि दुग्ध किसानको विषयमा गम्भिर हुन जरुरी रहेको उनको भनाई छ । किसान र सोझा जनतालाई भोटको लागि प्रयोग गर्ने राजनीतिले मकवानपुरलाई पछाडी पारेको बताउँदै निष्ठाको राजनीतिमा लाग्न सम्पूणर् दलका नेताहरुलाई उनको अपील पनि छ । अहिलेको किसानको समस्या समाधानका लागि किसान आन्दोलन अपरिहार्य भएको उनको जिकिर छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको