मुख्यमन्त्री जम्कट्टेल भन्छन् -संघीयताको कार्यान्वयन सन्तोषजनक !
मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टलले संघीयता कार्यान्वयनको सुरुवात सन्तोषजनक रहेको बताएका छन ।
बिहीवार हेटौंडामा आयोजित तहगत अधिकारको कार्यविस्तृतीकरण विषयक अन्तरक्रियामा जम्कट्टेलले संघीयतासँगै जनतामा अधिकार प्राप्ति र विकासको चेतना जागरण भएको स्पष्ट बताए ।
उनले संघीयताले जनतालाई अधिकार माग गर्ने चेतना दिएको बताउँदै संविधानले दिएका तहगत अधिकार आउन बाँकी नै भएको कारण निराशा हुनुपर्ने अवस्था नरहेको उल्लेख गरे ।
गाउँपालिका महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डेले प्रदेश र स्थानीयतह एक भएर संविधानको कार्यान्वयनमा जानुपर्नेमा जोड दिइन् । उनले सरकारलाई अब सिक्दै जाने छुट नभएको भन्दै संघीयताको मर्म र भावना अनुरुप काम गर्नुपर्ने बताइन् । जनताले तीनतहको सरकारको अनुभुती गर्न नसकेको कारण पनि अधिकार बाँडफाँडसंगै अक्षरस कार्यान्वयनमा तत्कालै जानुपर्नेमा उनले जोड दिइन् ।
नगरपालिका महासंघ नेपालका अध्यक्ष भीमप्रसाद ढुंगानाले संघीयताले दिएको अधिकारको पुणर् कार्यान्वयन हुँदा समृद्ध राज्य निर्माण हुने बताए । तीन तहको सरकार एकअर्कामा गुनासो गर्दै बस्दा त्यसको असर राज्यमा पर्ने भएकोले समन्वय गरेर तत्काल कार्यान्वयनमा लानुपर्ने उनको भनाई छ ।
बागमती प्रदेशका मुख्य सचिव घनश्याम उपाध्यायले सातै प्रदेशका सरोकारवाला बिचको छलफलले संघीयता कार्यान्वयनमा थप बल पुग्ने बताए ।











































