हेटौंडामा सातै प्रदेशका मुख्यमन्त्रीको भेला, संघसँग अधिकार लिने विषयमा के गर्लान् निर्णय ?
मकवानपुर । देशका सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा हुँदैछ । यो बैठकमा संघीयता कार्यान्वयनका सन्दर्भमा मुख्यमन्त्रीहरुबीच गहन छलफल हुने जनाइएको छ । मुख्यमन्त्रीहरुले बैठकले संघीय सरकारसँग आफ्ना विभिन्न अधिकारबारे ध्यानाकर्षण गराउँने बताइएको छ ।
गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरुको अन्तर प्रदेश बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको राष्ट्रिय समन्वय परिषदको बैठकमा भएका निर्णय कार्यान्वयनको समय गुज्रिन लाग्दा पनि संघले तदारुकता नदेखाएको भन्दै मुख्यमन्त्रीहरुको हेटौंडामा बैठक आयोजना गरिएको हो ।
संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला हुने भएका हुन् ।
संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडमा समस्या देखिएको समयमा छलफल र संविधान कार्यान्वयनका लागि आवश्यक सुझाव दिने उद्देश्यसहित मुख्यमन्त्रीहरू हेटौँडामा भेला हुने भएका हुन् ।
सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागितामा तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी गोष्ठी आयोजना गरिएको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालय, हेटौंडाको भनाई छ । यो गोष्ठीमा तीनै तहका सरकारको साझा अधिकारको विस्तृतीकरण र कानून निर्माण प्रक्रिया, बित्त र आर्थिक विकास क्षेत्र, सेवा क्षेत्र, पूर्वाधार क्षेत्र र वन वातावरण तथा विपत व्यवस्थापन क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुतीसँगै छलफल हुने भएको छ ।
कार्यक्रममा सातै प्रदेशका प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल नगरपालिका संघका पदाधिकारीहरूको सहभागिता रहने छ । छलफलपछि शुक्रबार साझा प्रतिवेदनसमेत अनुमोदन गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।











































