राष्ट्रियसभा सदस्यका लागि बागमतीमा गठबन्धनका उम्मेद्वारद्धारा मनोनयन दर्ता

लोकखबर
२०८० पुष २३, सोमबार १६:५४

मकवानपुर । आगामी माघ ११ गते हुन लागिरहेको राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि बागमती प्रदेशबाट सत्ता गठबन्धनका ४ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

सोमबार प्रदेश राजधानी हेटौंडामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले २ र नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीबाट एक एक जनाले मनोनयन दर्ता गराएका हुन् ।

कांग्रेसबाट महिला क्लस्टरमा विष्णु कुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेतले मनोनयन दर्ता गराएका हुन् भने माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गराएका हुन् ।

आइतबार २२ पुसमा मतदाताको अन्तिम नामावली सार्वजनिक गरिएको थियो भने सोमबार २३ पुसमा बागमती सहित सातै प्रदेशमा मनोनयन दर्ता भएको हो । निर्वाचनको लागि निर्वाचन आयोगले आफ्नो तयारीलाई तीव्र पारेको छ ।

आयोगका अनुसार निर्वाचनमा बागमती प्रदेशतर्फ ४ सिटका लागि निर्वाचन हुँदैछ । बागमती प्रदेश तर्फबाट राष्ट्रिय सभा सदस्य बनेका ४ जनाको पदावधि सकिँदै छ । हाल कायम रहेका राष्ट्रिय सभा सदस्यहरू मध्ये बागमती प्रदेश तर्फका एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र सांसद खिमलाल देवकोटाको पद रिक्त हुँदैछ । जस अनुसार निर्वाचनमा महिला, अपाङ्गता/अल्पसङ्ख्यक, दलित र अन्य समूहका १/१ सिटका लागि चुनाव हुन लागेको हो ।

बागमती प्रदेशको स्थानीय तह र प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत छ । बागमती प्रदेशको कुल ११० सांसद मध्ये प्रदेशसमामा गठबन्धनको ६५ सिट रहेको छ । प्रदेशसभामा गठबन्धनको ठुलो दल कांग्रेसका ३७ सांसद छन् भने माओवादी केन्द्रका २१ र नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् ।

राष्ट्रिय सभा सदस्य पदका लागि प्रदेश सांसदहरूको मतभार ५३ कायम गरिएको छ । जस अनुसार राष्ट्रिय सभा सदस्य पदका लागि कांग्रेसका १ हजार ९६१ मत कायम हुन आउँछ भने माओवादी केन्द्रको १ हजार ११३ र एकीकृत समाजवादीको ३७१ गरी सत्ता गठबन्धनको कुल २ हजार ४४५ मत रहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको