राष्ट्रियसभा सदस्य निर्वाचन : बागमतीमा ४ सिटका लागि १६ जनाको उम्मेदवारी दर्ता
मकवानपुर । आगामी माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशमा १६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
सोमबार प्रदेशको राजधानी हेटौंडा ५, सानोपोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरिएको हो । राष्ट्रियसभा सदस्यका लागि बागमतीमा ४ सिटका लागि उम्मेदवारी दर्ता भएको हो । बागमतीमा सत्ता गठबन्धन, नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका तर्फबाट मनोनयन दर्ता गरिएको छ ।
सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले २ सिटमा उम्मेदवारी दिएको छ । कांग्रेसबाट महिलातर्फ विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेतले उम्मेदवारी परेको हो भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तर्फबाट १–१ सिटमा उम्मेदवारी दर्ता भएको छ । माओवादी केन्द्रबाट अपांगता भएका वा अल्पसंख्यकतर्फ श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट दलिततर्फ घनश्याम रिजाल विश्वकर्माले उम्मेदवारी दिएका हुन् ।
एमालेले चार वटै पदमा एकलौटी उम्मेदवारी दर्ता गराएको छ । एमालेबाट महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपांगता भएका वा अल्पसंख्यकतर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटाको उम्मेदवारी दर्ता भएको हो । यस्तै, राप्रपाबाट दलिततर्फ पूर्णबहादुर विश्वकर्मा, महिलातर्फ बालकुमारी डल्लाकोटी, अपांगता भएका वा अल्पसंख्यकतर्फ भरतमणि भट्ट र अन्यतर्फ हेमजंग गुरुङले उम्मेदवारी दिएका छन् ।
यस्तै, नेपाल मजदुर किसान पार्टीले महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ संगिता नेपाली, अपांगता भएका वा अल्पसंख्यकतर्फ हिमालयश्वर मूल र अन्यतर्फ श्रीकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ ।
बागमती प्रदेशमा ३ सय ४७ जना मतदाता छन् । प्रदेशमा ११० जना प्रदेशसभा सदस्य र २ सय ३७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहेका छन् ।











































