हेटौंडा १३ मा पदमपोखरी अस्पताल उद्घाटन
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी निर्मित पदमपोखरी अस्पतालको शुक्रबार उद्घाटन गरिएको छ।
हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले अस्पतालको उद्घाटन गरेकी हुन् ।
चिकित्सक डाक्टरको सुविधासहित गाउँमै उपचार सेवा प्रदान गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले पालिकास्तरको अस्पतालको सुरुवात गरेको हो ।
पालिकाले सञ्चालन गरेको ५ बेडको अस्पतालले गत १७ पुसबाट चिकित्सकसहितको सुविधा दिँदै आएको थियो । अस्पतालले आकस्मिक सेवा सहित अन्य सामान्य उपचार सेवा दिदै आएको छ ।
अस्पतालको उद्घाटन गर्दै नगर प्रमुख लामाले स्थानीयलाई उनीहरुकै ठाउँबाटै स्वास्थ्य उपचार दिलाउनका लागि अस्पताल सञ्चालनमा ल्याइएको बताइन् । स्वास्थ्य चौकीबाट दिदै आएको सुविधालाई केही विकसित गर्दै अस्पताल सञ्चालनमा ल्याइएको उनको भनाई छ । चिकित्सकसहितको सुविधा दिने उद्देश्य सहित पालिकाले नगरको दुई ठाउँमा अस्पताल सञ्चालन गरेको प्रमुख लामाले बताइन् ।
अस्पतालको उद्घाटनसँगै पदमपोखरीमा निः शुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ । शिविरमा २६६ महिला र १७१ जना पुरुष गरी ४३७ जनाले सेवा लिएको अस्पतालका सिनियर अहेब शेरबहादुर व्लोनले जानकारी दिए । शिविरमा सेवा लिन आएका मध्ये ३५० जनालाई आँखाको, १०८ जनालाई ल्याव २३ जना मानसिक सेवा प्रदान गरीएको उनले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका वित्त व्यवस्थापन महाशाखा प्रमुख अनिरुद्र नेपाल, सामाजिक विकास महाशाखाका प्रमुख भीमप्रसाद तिमल्सिनालगायतको उपस्थिती थियो ।

पदमपोखरी अस्पताल उद्घाटन समारोह ।











































