बागमतीमा सत्तागठबन्धका चारै जना उम्मेदवार विजयी
मकवानपुर । विहीबार हेटौँडामा सम्पन्न राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा सत्ता गठबन्धनतर्फका चारै जना उम्मेदवार विजयी भएका छन् ।
निर्वाचनमा नेपाली काङ्ग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका हुन् ।
चुनावमा अन्य क्लस्टरमा कांग्रेसका बस्नेतले ६५३१, महिला क्लस्टरमा कांग्रेसकै पुडासैनीले ६६२२ मतभार प्राप्त गरे । अपाङ्गता/अल्पसंख्यक क्लस्टरमा माओवादी केन्द्रका अधिकारीले ६३८३ र दलित क्लस्टरमा एकीकृत समाजवादीका रिजालले ६५१२ मतभार पाए ।
निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलका अनुसार निर्वाचनमा ११० सदस्यीय बागमती प्रदेश सभातर्फ १०८ जना प्रदेश सभा सदस्य र स्थानीय तहका २३७ जना मतदातामध्ये २३४ जनाले मतदान गरेका थिए । मतदानमा ५ जना मतदाता भने अनुपस्थित भए ।
राष्ट्रिय सभामा बागमती प्रदेशको रिक्त हुने ४ सिटका लागि ६ दलका १५ जनाले उम्मेदवारी दिएका थिए ।
चुनावमा नेकपा एमालेबाट अन्यमा काठ्माडौंका विवेक देवकोटा, महिला क्लस्टरमा दोलखाकी रोजकुमारी चौलागाईं, दलित क्लस्टरमा धादिङका ध्रुव विश्वकर्मा र अपाङ्ग क्लस्टरमा चितवनका त्रिलोचन निर्मल पौडेल उम्मेदवार थिए ।
राप्रपाबाट अन्य क्लस्टरमा काठ्माडौंका हेमजंग गुरुङ, महिला क्लस्टरमा मकवानपुरकी बालकुमारी डल्लाकोटी र अपाङ्ग क्लस्टरमा चितवनका भरतमणि भट्ट उम्मेदवार थिए ।
नेपाल मजुदर किसान पार्टीबाट अन्य क्लस्टरमा काठमाडौंका श्रीकृष्ण महर्जन, महिला क्लस्टरमा भक्तपुरकी कृष्णलक्ष्मी दुवाल र दलित क्लस्टरमा भक्तपुरकी संगीता नेपाली उम्मेदवार थिए ।











































