राजनीतिलाई सेवाका रुपमा लिनुपर्ने : प्रकाशमान सिंह

लोकखबर
२०८० माघ १२, शुक्रबार १८:१७

मकवानपुर । नेपाली कांग्रेस, बागमती प्रदेश समितिले शुक्रबार हेटौंडामा पार्टी को ७८ औँ स्थापना दिवस मनाएको छ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले राजनीतिलाई सेवाको रुपमा लिनुपर्नेमा जोड दिए । कांग्रेसका सर्वोच्च नेता, लौहपुरुष तथा सर्वमान्य नेता गणेशमान सिंहका कान्छा सुपुत्र प्रकाशनमानले राजनीतिमार्फत समाज र राष्ट्रको सेवामा ध्यान दिन सबैमा आग्रह गरेका हुन् । ‘प्रधानमन्त्री बनौँला, माननीय बनौँला, मेयर बनौँला भनेर हामी राजनीतिमा आएका होइनौं, हामी त जनताको अधिकार दिलाउन राजनीतिमा लागेका हौँ ।’ सिंहले भने-‘७८ औं स्थापना दिवस मनाइरहँदा के कुरामा जोड दिन प¥यो भने राजनीतिलाई सेवाको क्षेत्रको रुपमा स्थापित गराउन ध्यान दिनुपर्छ ।’

नेपाली कांग्रेस पार्टीलाई लोकप्रिय पार्टीको रुपमा आजसम्म स्थापित गर्न आफ्ना पिता गणेशमान र अन्य नेताहरुको भूमिकालाई उनले स्मरणसमेत गरे । पार्टी र पार्टीबाट प्रतिनिधित्व गरेर बनेका जनप्रतिनिधिहरुले इमान्दारिताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । सबैले आफ्नो जिम्मेवारी पूरा गरेमा जनताले चाहेको सुशासनलाई अनुभुत गराउन सक्ने उनको भनाइ छ । जनताको इच्छा आकांक्षा पूरा गर्न निस्वार्थ भावले काम गर्नुपर्ने नेता सिंहले बताए । विगतदेखि नै विभिन्न राजनीतिक परिवर्तनमा कांग्रेसले नेतृत्व गरेको भन्दै नेता सिंहले २०७२ को संविधान जारी गर्नसम्म नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गरे । कांग्रेसकै नेतृत्वमा प्राप्त भएको संविधानको रक्षाको लागि अहिले अन्य दलहरुसँग गठबन्धन गरेर अघि बढिरहेको भन्दै उनले वर्तमान सत्ता गठबन्धनलाई अझै बलियो बनाएर संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए।

नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको दिनको स्मरणमा स्थापना दिवस मनाउँदै आएको कांग्रेसले जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनाको नेतृत्व गरेको थियो भने ७ दशकपछि गणतन्त्र स्थापनाको नेतृत्व गर्दै अहिले पनि संसद्को सबैभन्दा ठूलो दलकारुपमा रहेको छ । नेपालमा १०४ वर्षे राणा शासन फ्याँक्ने नेतृत्व गरेको कांग्रेसले ३० वर्षे एकदलीय निरंकुश पञ्चायती शासन व्यवस्थाको अन्त्य र २३८ वर्ष पुरानो शाहवंशीय राजतन्त्रको समेत अन्त्य गर्नेमा नेतृत्वदायी भूमिका निभाएको थियो ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य राजन केसी, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा, नेकपा माओवादी केन्द्रका नेता सरल सहयात्री, कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, बिहीबार मात्रै बागमती प्रदेशमा गठबन्धनबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएकाहरु जितजंग बस्नेत, विष्णुदेवी पुडासैनी, श्रीकृष्ण अधिकारी, घनश्याम रिजाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको