पार्टीमा विचार,सिद्धान्त एवम् राजनीतिक सोचसहितको पुस्तान्तरण:रामकुमारी झाँक्री
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की केन्द्रीय सचिव एवम् पूर्व शहरी विकासमन्त्री रामकुमारी झाक्रीले पार्टीमा अब पुुस्तान्तरणको बहस चलाइँदा विचार, सिद्धान्त एवम् राजनीतिक सोचसहितको पुस्तान्तरण हुनुपर्ने बताएकी छिन् । पार्टीका नेताहरुको उमेर पाको हुँदैमा पुस्तान्तरण गर्ने कुराको चर्चा गर्नुभन्दा विचार,राजनीति तथा सोचसहित पुस्तान्तरण ठीक हुने नेतृ झाक्रीले तर्क पेश गरिन् ।
शनिबार एकीकृत समाजवादी, हेटौंडा उपमहानगरपालिका कमिटीको आयोजनामा हेटौंडा १६ मा भएको बृहत वनभोज तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेतृ झाक्रीले पार्टीभित्र पुस्तान्तरणको चर्चा गरिँदा विचारविहीन, सिद्धान्तहीन पुस्तान्तरणको कुरा हुने गरेकोमा अबदेखि यसलाई सच्याइनुपर्ने बताइन् । ‘पार्टीमा एउटा मान्छेले परिवर्तनका लागि के योगदान गर्यो भन्ने कुरा हामी हेर्दैनौं । पाको उमेर भएकोको अनुभव हामीले हेर्नुपर्छ ।’ झाक्रीले भनिन ।‘हामीले आज बाँचेको तथा भोगेको समस्याको समाधान गर्न तिर लाग्नुपर्छ ।’
प्रत्येक कार्यकर्ता उद्यमी बन्दै राजनीतिमा लागे सफलता मिल्ने बताउँदै झाक्रीले राजनीति भनेको उद्यमीहरुको समूह हो भन्ने बनाउँनुपर्ने आवश्यकता औल्याइँन् । ‘बेरोजगारहरुलाई राजनीतिमा ल्याएकै कारण पनि राजनीति बेरोजगारहरुको जमघटको थलो जस्तो भयो ।’ उनले भनिन्,‘बेरोजगारको पल्टनका पल्टन मान्छे राखेर समाजवाद हुँदैन । सकिन्छ स्वरोजगार बन्ने नभए रोजगार त हुनैपर्छ ।’
नेतृ झाँक्रीले विगतमा अवसर नहुँदा असजिला बाटाहरु पार गर्दै राजनीतिमा लागेको बताउँदै अहिले अवसर भएकाले आफ्नोे कर्तव्य सम्झँदै नागरिकलाई सूसुचित गराउँन लाग्नुपर्ने बताइन् । यसो गरेमा पार्टी निर्माण हुनसक्ने झाक्रीको दाबी छ। सात दशकमा ल्याइएका सात वटा संविधानमा अधिकारका कुरा गरिएको तर तर अर्थतन्त्रलाई बलियो बनाउने र नागरिकलाई काम गर्न योग्य वातावरण बनाउने विषयमा ध्यान नदिइएको उनले बताइन् ।‘त्यस्ता पाटोमा ध्यान नदिँदा अहिले हरेक पेशाबाट राजनीतिमा आएर चुनाव लड्ने चुनावी मौसमको राजनीति हामीकहाँ बनिरहेको छ।’ उनले भनिन् । अहिलेको व्यवस्था ठीक भएपनि केहीले आफ्नो राजनीतिका लागि लोकरिझ्याँईको भाष्य खडा गरेको झाँक्रीले टिप्पणी गरिन् ।
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य वंशीधर मिश्र,मुनु सिग्देल,पोलिटब्युरो सदस्य घनप्रसाद गौतम,केन्द्रीय सदस्य राजाराम स्याङ्तान,गोमा तिमल्सिना,मीना कुमारी लामा,केन्द्रिय परिषद् सदस्य सीता श्रेष्ठ लगायतले अबका दिनमा कम्युनिष्ट पार्टीको निर्माण एकीकृत समाजवादीकै नेतृत्वमा हुने बताए ।
एकीकृत समाजवादी हेटौंडा नगर कमिटी अध्यक्ष विष्णु लामाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका स्थायी कमिटि सदस्य ललित बस्नेत, पार्टी मकवानपुर अध्यक्ष विष्णु दाहाल, सचिव ध्रुव भुजेललगायत नेता कार्यकर्ताको उपस्थिती थियो ।











































