एलनलाई गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मानबाट पुरस्कृत गरिने

लोकखबर
२०८० माघ २२, सोमबार २१:१६

मकवानपुर । मकवानपुरका पत्रकार रामकुमार एलनलाई गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान-२०८० बाट पुरस्कृत गरिने भएको छ ।
झरना साहित्य परिवार बकैया, मकवानपुरले पत्रकार गोकर्ण गौतमको स्मृतिमा स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशीको यो पुरस्कार साहित्यकार समेत रहेका पत्रकार एलनलाई प्रदान गर्ने सोमबार हेटौंडामा आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइएको हो । यो पुरस्कार स्व.गौतमका माता नन्ददेवी गौतमले स्थापना गरेकी हुन् ।

झरनाको ३१ औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव २०८० को अवसरमा पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
एलनसंगै आफूहरुले विभिन्न क्षेत्रका ९ जना स्रष्टालाई सम्मान गर्ने तयारी गरेको झरना साहित्यिक परिवारका सचिव मसान उपासकले जानकारी दिए ।
यस वर्षको होमनाथ-टीकामाया प्रतिभा सम्मान २०७९ बाट काठमाडौँकी डा.गीता त्रिपाठी सम्मानित हुने भएकी छिन् । उनलाई साहित्य क्षेत्रमा योगदान गरेबापत् नगद २१ हजार १ सय २१ रुपैयाँ सहित सम्मान गरिने भएको हो । यो सम्मान नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेका हुन् ।

यस्तै, साहित्यको मुक्तक विधातर्फ खोटाङका बाबुराम पोखरेललाई सम्मान गरिने भएको छ । उनलाई रमेशमोहन अधिकारीले आफ्नो मातापिताको नाममा स्थापना गरिएको नगद १५ हजार ५ सय ५५ राशीको शिव-सावित्री अधिकारी स्मृति मुक्तक सम्मानबाट सम्मान गरिने भएको हो ।

यस्तै, मकवानपुर जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्नाका लागि भूमिका खेलेबापत साम्ब ढकाललाई बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान प्रदान गरिने भएको छ । नगद १५ हजार ५ सय ५५ राशीको यो पुरस्कार विनोद सुवेदीले मातापिताको नाममा स्थापना गरेका हुन् ।

यस्तै, अर्पण पराजुली र दर्पण पराजुलीले आफ्नो मातापिताको सम्मानमा स्थापना गरेको षडानन्द-मनमाया प्रतिभा सम्मानबाट स्याङ्जाका मिलन समिर, राजन दंगालले आफ्नी दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेको सुशीला दंगालस्मृति सिर्जनशील नारी सम्मानबाट बिमला कार्की सुसं, तुलसी गिरीले स्थापना गरेको सञ्जीवनी बुटी साहित्य सेवा सम्मानबाट भरतप्रसाद सापकोटा र बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले स्थापना गरेको खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मानबाट बासुरीवादक बिष्णु घतानीलाई सम्मान गरिने जनाइएको छ । उनीहरुलाई जनही नगद ७ हजार ७ सय ७७ सहित सम्मान गरिने भएको बताइएको छ ।

यस्तै, ५ हजार ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार गजलकार अजर फुयाँललाई प्रदान गरिने भएको छ । यो पुरस्कार बकैयाका चन्द्रकुमार राईले स्थापना गरेका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको