हेटौंडा उपमहानगरमा पहिलोपटक दरबन्दी समस्या हल

लोकखबर
२०८० माघ २५, बिहीबार १८:५७

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले पहिलोपटक वैज्ञानिक हिसाबले शैक्षिक क्षेत्रमा दरबन्दी मिलान गरेको छ ।
लामो समयसम्म व्यवस्थित हुन नसकेको दरबन्दी मिलान गर्दै नगरपालिकाले व्यवस्थित पठनपाठनका लागि दरबन्दी मिलान गरेपछि सबैले स्वागत गरेका छन् ।

उपमहानगरभित्रका ३२ विद्यालयका प्राथमिक तहको दरबन्दी कट्टा गरी कम भएका १५ विद्यालयमा थपिएपछि शिक्षकको समस्या हट्ने देखिएको छ । यसले पठनपाठन अरु प्रभावकारी हुने अनुमान उपमहानगरको छ । उपमहानगरले नगर शिक्षा समितिको निर्णयअनुसार दरबन्दी मिलान भएको बताएको छ । शिक्षा ऐन २०७४ को संसोधित व्यवस्थाअनुसार नगर शिक्षा समितिले सबैलाई सहज, व्यवस्थित हुने गरी शैक्षिक दरबन्दी मिलान गरेको जनाएको छ ।

‘विद्यालय क्षेत्रमा देखिएको शिक्षक अभाव र पठनपाठनमा समस्या हलको प्रयत्न गरेका छौँ,’ नगरप्रमुख मीनाकुमारी लामाले भनिन् ‘सकभर सबै समस्या हल हुने गरी दरबन्दी मिलान गरेका छौँ, केही समस्या बाँकी भए फेरि पनि यसमा समाधान खोजिनेछ ।’ नगरका ३२ विद्यालयका दरबन्दी काटिएर १५ विद्यालयमा थपिएको छ । ‘दरबन्दी काटिएका कुनै पनि विद्यालयमा समस्या परे समितिले सम्बन्धित विद्यालयको अनुगमन गरी पुनः व्यवस्थापन गर्ने जनाएको छ । हेटौँडा उपमहानगरमा सामुदायिक र संस्थागत गरेर ५५ हजार विद्यार्थी अध्ययनरत छन् ।

हेटौँडा उपमहानगर शिक्षा समितिमा नगरप्रमुख मीनाकुमारी लामा, सदस्यमा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, सामाजिक विकास समिति संयोजक रामकृष्ण कोइराला छन् । यस्तै नगरसभा सदस्य रञ्जिता सिलवाल र दावा लामा, कार्यपालिका सदस्य ईश्वरी रसाइली, सामुदायिक विद्यालय अध्यक्षका कमल विष्ट र सीता अधिकारी, प्रधानाध्यापकका तर्फबाट ज्ञानेन्द्र दाहाल, संस्थागत विद्यालय प्रतिनिधिमा नवीन केसी र सदस्य सचिव शिक्षा महाशाखा प्रमुख हरिश्चन्द्र सापकोटा छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको