प्रविधिमा जोडिँदै थाहा ३ का किसान

लोकखबर
२०८० फाल्गुन ४, शुक्रबार १०:१९

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नं. ३ को कार्यालयले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत टनेल निर्माण,मिनिटिलर र ईलेक्ट्रिक स्प्रे पम्पका लागि सहयोग गरेपश्चात स्थानीय किसानहरु खुसी भएका छन् ।

वडाको सहयोगका कारण स्थानीय भोटखोरियाका कृषक नरेश कार्की टनेलमा तरकारी बालीको बिरुवा उत्पादन गर्न निकै सहज भएको बताउँछन् र कार्कीले खुल्ला ठाँउमा बीउ राख्दा उमारमा समस्या, उम्रेपनि जोगाउन हम्मे हम्मे हुने बताए ।

खुल्ला ठाँउमा तरकारी बालीको बीउ राख्न भन्दा टनेलमा निकै सहज हुने अर्का कृषक प्रदिप उप्रेतीको भनाई छ । समयको बचतसँगै बीउको उमार र हुकाईका लागि टनेल निकै उपयोगी हुने उप्रेती बताउँछन् ।

तरकारीको बिरुवा उत्पादन गर्नका साथै १२ महिना नै तरकारी उत्पादन हुने भएकोले टनेल निकै प्रभावकारी हुने कृषक दिपक विष्टले बताए । विष्टले वडाका कृषकहरुलाई टनेल निर्माण लगायतका कृषि सामग्री सहयोग गरेकोमा वडा कार्यालय र जनप्रतिनिधिहरुलाई धन्यवाद समेत दिए ।

वडा कार्यालयले ७२ वर्ग मिटरको टनेल निर्माणका लागि आवश्यक बाँस र प्लाष्टिक निशुल्क उपलब्ध गराएको छ भने कृषकले निर्माण र अन्य खर्च गर्नुपर्ने हुन्छ ।
एउटा टनेल निर्माणका लागि आवश्यक पर्ने २० वटा बाँस र टनेललाई प्लाष्टिक वडा कार्यालयले उपलब्ध गराउने वडा सदस्य सविता सुनारले जानकारी दिइन् ।

एक घर एक टनेलको अवधारणा अन्तरगत वडाका कृषकहरुलाई तरकारीको बीउ उत्पादनमा आत्मनिर्भर बनाउन टनेल निर्माणका लागि कृषकहरुलाई प्रोत्साहन गरिएको वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझीले बताए ।

थाहा ३ मा १ हजार ४६ घरधुरी रहेकोमा कृषकहरुको मागको आधारमा गत वर्ष ४५ वटा टनेल निर्माणको लागि वडा कार्यालयले सहयोग गरेको थियो भने यसवर्ष ९० वटा टनेल निर्माणको लागि सहयोग गरेको छ ।

वडाको मुख्य पेशा कृषि भएकोले कृषिमा युवाहरुलाई आकर्षित गरी व्यवसायिक बनाउनको लागि टनेल निर्माणका लागि सहयोग गरिएको र आगामी वर्षमा समेत टनेल निर्माणका लागि सहयोग गरिने अध्यक्ष रायमाझीले बताए ।

कृषि पेशालाई प्रविधिमैत्री बनाउन यस वर्ष कृषकको मागको आधारमा ५० प्रतिशत लागत साझेदारीमा ७३ वटा ईलेक्ट्रिक स्प्रेयर पम्प र २१ वटा मिनिटिलर पनि वितरण गरिएको अध्यक्ष रायमाझीले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको