देशभरका चलचित्र पत्रकार हेटौंडामा भेला हुँदै
मकवानपुर । चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला आइतबार हेटौंडामा हुँदैछ । संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले फागुन ५ देखि ८ गतेसम्म राष्ट्रिय भेला गर्न लागेको हो ।
सिनेमा पर्यटनको आधारलाई अघि सार्दै संघले राष्ट्रिय भेलामा सिनेमा संवाद, अन्तर्कृया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुतलगायतका विभिन्न कार्यक्रमहरु गरिने संघका केन्द्रीय अध्यक्ष समीर बलामीले जानकारी दिए ।
स्थानीय ठाउँहरुलाई नेपाली सिनेमामार्फत पर्यटन प्रबर्धन गर्ने उद्देश्यले भेला आयोजना गरिएको अध्यक्ष बलामीले बताए । भेलामा देशभरबाट दुई सय पचास जना पत्रकार र ५० बढी कलाकार अतिथिको रुपमा उपस्थित हुने उनको भनाई छ । कार्यक्रममा नेपाली चलचित्र उद्योगको कार्यपत्र र चलचित्र पत्रकारिता क्षेत्रको कार्यपत्र प्रस्तुत हुनेछ । भेलाका लागि आवश्यक सबै तयारी पूरा गरिएको चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काले जानकारी दिए ।
फागुन ६ गते भेलाको औपचारिक उद्घाटनपछि बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार पारेको चलचित्र ऐन मस्यौदामाथि छलफल हुनेछ । प्रेस काउन्सिल नेपालले सोही कार्यक्रममा बिट पत्रकारिता र हेटौंडाका पत्रकारका लागि पत्रकार आचारसंहितामाथी छलफल गर्नेछ ।
विज्ञापन बोर्डले अनलाईन व्यवस्थापक सम्बन्धी कार्यशाला आयोजना गर्नेछ । यस्तै, फागुन ७ गते सिनेमा पर्यटन, सिनेमा बजार, मिडिया प्रमोशन र कर्पोरेट लगानी, फिल्म सेन्सर, नेपाली सिनेमाको अबको बाटो, केन्द्रीय चलचित्र ऐन र सेन्सर कार्यविधि बिषयहरुमा संवाद र अन्तरक्रिया आयोजना हुनेछ ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सेन्सर बोर्डका अध्यक्ष तथा सहसचिव नेत्र प्रसाद सुवेदी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल, बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा, पर्यटन बोर्डका प्रबन्धक सुर्य थपालिया, सञ्चार मन्त्रालयका प्रतिनिधि, पर्यटन मन्त्रालयका प्रतिनिधिलगायत वक्ताहरुको उपस्थिति कार्यक्रममा रहनेछ ।
यस्तै दयाराम दाहाल, नरेन्द्र महर्जन, जनक तामाङ, स्वस्तिमा खड्का, केकी अधिकारी, दिनेश डिसी, आकाश अधिकारी, निश्चल बस्नेत, अशोक प्यासी राई, मनोज पण्डित, सन्जोग बस्याल, अरुण बराल, चिरन्जिवी पौडेल, मोहन निरौला, राजु केसी, नवल खड्का, रवि अधिकारी, के एल पीडित, विदुर गिरी, शान्तिप्रिय, ध्रुव लम्साल, प्रकाश सायमी, डब्बु क्षेत्रीलगायत चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिति रहने जनाइएको छ ।











































