एमालेका ६० प्रतिशतले सदस्यता नवीकरण गरेनन्ः तुलाधर

लोकखबर
२०८० फाल्गुन ८, मंगलवार १९:३३

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवम् बागमती प्रदेश इञ्चार्ज डा. गंगालाल तुलाधरले नेकपा एमालेका संगठित सदस्यमध्ये ६० प्रतिशत सदस्यले सदस्यता नवीकरण नगरेको बताएका छन् ।
एकीकृत समाजवादी मकवानपुरको नवौँ सचिवालय बैठकलाई मंगलबार हेटौँडामा सम्बोधन गर्दै इञ्चार्ज तुलाधरले पार्टीभित्र बढिरहेको विकृति र बदमासी गर्नेहरुलाई दिइएको संरक्षणले इमान्दार कार्यकर्ता पंक्तिले सदस्यता नवीकरणमै रुचि नदेखाएको बताए । उनले भने, ‘एमालेभित्र एउटा नेताको कम्पनी निर्माण हुँदै गएको र कैयौँ वरिष्ठ नेताहरुले समेत मनको उकुसमुकुस पनि पोख्ने ठाउँ नपाइएको अवस्थामा सदस्यता नवीकरण पनि कम भएको पाइएको छ ।’ उनले एमालेभित्रको यही बेथितिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेशको लहर देशैभर बढिरहेको बताए ।
यस्तै, बागमती प्रदेश सहइञ्चार्ज एवम् स्थायी कमिटी सदस्य ललित बस्नेतले संगठन निर्माणमा जुट्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले मसिनोसँग ग्रामीणस्तरमा पुगेर जनताका पीरमर्का सुन्दै पार्टी निर्माण गर्न सकिने आधार एमालेले नै बनाइरहेको बताए ।
पूर्वमन्त्री एवम् पार्टी स्थायी कमिटी सदस्य विरोध खतिवडाले बाहिर हल्ला गरिएजस्तो मकवानपुरमा समाजवादी पार्टी कमजोर नरहेको र कार्यकर्ता निरास नदेखिएको बताए । ‘झट्ट हेर्दा त पार्टीका केन्द्रीय उपाध्यक्ष, दुई जिल्ला अध्यक्षले नै पार्टी छाडेपछि निरासा छाएको हल्ला छ, तर संगठन बनिरहेको छ, एमालेका युवा पंक्ति समाजवादीमा आइरहेका छन् र कार्यकर्ता उत्साहका साथ लागेका छन्,’ खतिवडाले भने, ‘पार्टी निर्माणको चरणमा छ, सानो छ र गठबन्धनलाई हाम्रो लयमा हिँडाउने गरी काम भइरहेकाले समाजवादी पार्टीको यात्रा सहज भएकाले अरु धेरै नेता कार्यकर्ता प्रवेश गर्ने चरणमा छन् ।’
कार्यक्रममा पार्टी केन्द्रीय सदस्यहरु मुनु सिग्देल, राजाराम स्याङ्तान, मीनाकुमारी लामा, गोविन्दराम चेपाङ, निर्वाचन आयोग सदस्य रामचन्द्र बल, प्रदेश कमिटी सचिव तथा मन्त्री लक्ष्मण लम्साल, सदस्य जीवन लामालगायतका नेता कार्यकर्ताहरुको सहभागिता थियो । कार्यक्रम पार्टी अध्यक्ष विष्णु दाहालको अध्यक्षतामा भएको हो ।
बैठकले संगठन तथा सदस्यता विस्तार अभियान २०८० कार्यान्वयन तथा माघ २५ गतेदेखि चैत २५ गतेसम्म दश वटै पालिकामा अभियान सम्पन्न गर्न नेता कार्यकर्ता परिचालन गरेको छ । मनहरी गाउँपालिकामा स्थायी कमिटी सदस्य विरोध खतिवडा, जिल्ला उपाध्यक्ष भूमिनन्द अर्याल, निर्वाचन क्षेत्र संयोजक रामकुमार एलन, टंक मुक्तान, शिवकुमार रिजाल काशी, किशोर बर्तौलासहितको टोली परिचालन हुने भएको छ । यस्तै, बकैया गाउँपालिकामा पोलिटब्युरो सदस्य घनप्रसाद गौतम, उपसचिव कविन पन्त, कल्पना विश्वकर्मा, रामेश राई, भरत लामिछाने, सन्जीव लो, शिवबहादुर खुलालसहितको टोली परिचालन हुनेछ ।
यस्तै, बागमती गाउँपालिकामा केन्द्रीय सदस्य गोमा तिमल्सिना, प्रदेश सदस्य यादव गजुरेल, जिल्ला अध्यक्ष विष्णु प्रसाद दहाल, उपसचिव कविन पन्त, होमनाथ चौलागाईंसहितको टोली परिचालन हुनेछ । भीमफेदी गाउँपालिकामा केन्द्रीय सदस्य मुनु सिग्देल, कृष्ण बहादुर भोम्जन, शिवहरि बर्तौला, शान्ति प्रियवन्दनासहितको टोली परचालन हुने छ । ईन्द्रसरोवर गाउँपालिकामा केन्द्रीय निर्वाचन आयोग सदस्य रामचन्द्र बल, प्रदेश सदस्य जीवन लामा, कुन्साङ् लामासहितको टोली परिचालन हुने बताइएको छ ।
कैलाश गाउँपालिकामा केन्द्रीय सदस्य राजाराम स्याङ्तान, प्रदेश सदस्य गौतम बुद्ध लामा, किशोर बर्तौला, टंक मुक्तान, कालु ढकाल, अर्जुन गौतमसहितको टोली परिचालन हुने बताइएको छ । हेटौँडा उपमहानगरपालिकामा केन्द्रीय सदस्य मिनाकुमारी लामा, प्रदेश सदस्य सीता अधिकारी, रामचन्द्र ढकाल, गायत्री सुबेदी, पार्टी सचिव ध्रुव भुजेल, उपसचिव किशोर टण्डन, सदस्य विष्णुमाया लामासहितको टोली परिचालन हुनेछ ।
राक्सिराङ गाउँपालिकामा स्थायी कमिटी सदस्य विरोध खतिवडा, केन्द्रीय सदस्य गोविन्दराम चेपाङ, प्रदेश सदस्य कृष्णबहादुर चेपाङ्, उपाध्यक्ष भूमिनन्द अर्याल, निर्वाचन क्षेत्र संयोजक रामकुमार एलन, सचिवालय सदस्य किशोर बर्तौला, जिल्ला सदस्य ज्ञानेन्द्र तामाङ्सहितको टोली परिचालन हुने बताइएको छ ।
मकवानपुरगढी गाउँपालिकामा केन्द्रीय सदस्य मुनु सिग्देल, जिल्ला अध्यक्ष विष्णु प्रसाद दाहाल, सचिवालय सदस्यहरु मदन रिमाल, राजन दाहाल, दुर्गा दाहालसहितको टोली परिचालन हुनेछ । थाहा नगरपालिकामा केन्द्रीय निर्वाचन आयोग सदस्य रामचन्द्र बल, प्रदेश सदस्य ईश्वर रुम्बा, जिल्ला उपसचिव किरणमान बल, सानुकाजी गोपाली, एबि थापासहितको टोली परिचालन हुनेछ ।
नवौँ सचिवालय बैठकले किशोर बर्तौला र शिवबहादुर खुलाललाई जिल्ला कमिटी सदस्यमा मनोनयन गरेको छ । यस्तै, दुर्गा प्रसाद दाहाल, मनोज सुवेदी, समीर श्रेष्ठ र किशोर बर्तौलालाई सचिवालय सदस्यमा मनोनयन गरेको छ । दुर्गा प्रसाद दाहाललाई नेपाल रिटर्नी फेडेरेसनको मकवानपुर इञ्चार्जका रुपमा पार्टीले जिम्मेवारी तोकेको छ ।
बैठकमा नेकपा एमाले मनहरी गाउँ कमिटी सदस्य एवम् वडा नम्बर ५ का पूर्वजनप्रतिनिधि, रिटर्नी फेडेरेसन मनहरीका सदस्य महेन्द्रराज खड्का नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । उनलाई पार्टी उपमहासचिव डा. गंगालाल तुलाधर, स्थायी कमिटी सदस्य ललित बस्नेत, विरोध खतिवडालगायतका नेताले स्वागत गरे । यस्तै, नेकपा एमाले मनहरी–५ का युवा नेता लक्ष्मण लामिछाने पनि एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको