नेकपा एस निकट अनेमसंघद्वारा नेतृ सिलवाल सम्मानित
मकवानपुर । लामो समय देखि मकवानपुरको राजनितिक क्षेत्रमा लागेकी महिला नेतृ तिर्थदेवी सिलवाल सम्मानित भएकी छन् ।
११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) निकट रहेको अखिल नेपाल महिला संघ जिल्ला तथा नगर कमिटिले आयोजना गरेको अगुवा महिला भेला तथा सम्मान कार्यक्रममा नेतृ सिलवाललाई सम्मान गरिएको हो ।
सामाजिक क्षेत्र तथा राजनितिक क्षेत्रमा कृयाशील रहँदै आएकी नेतृ सिलवाललाई नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवम् हेटौंडा उपमहानगरपालिकका नगर प्रमुख मीनाकुमारी लामाले दोसल्ला ओढाएर सम्मान गरेकी हुन् ।
सम्मानित सिलवालले महिला आन्दोलनको दिवस पारेर राजनीतिक तथा सामाजिक क्षेत्रमा गरेको योगदानलाई सम्झँदै सम्मान गरेकोमा खुशी व्यक्त गरिन् । उनले महिला दिवसको सन्दर्भ पारेर गरेको सम्मानप्रति धन्यवाद दिँदै परिवर्तनको आन्दोलनमा होमिएर आएको उपलब्धीलाई जोगाउँन जरुरी रहेको उनले बताइन् । परिवर्तनलाई जोगाउँदै महिलाहरुको अधिकारलाई संरक्षण गर्न सबै एक जुट भएर लाग्न जरुरी रहेको उनको भनाई छ । नेकपा मालेको केन्द्रीय सचिव रहेकी सिलवाल पछिल्लो समय शारिरीक अस्वस्थाताका कारण उपचाररत छिन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य लामाले महिलाहरु आफै आर्य आर्जनमा जोडिन जरुरी रहेको बताइन् । अरुको भरमा पर्दा अहिले पनि अघि बढ्न नसकिने बताउँदै अहिले आफै अघि बढ्नका लागि आर्थिक रुपमा बलियो हुनु पर्ने उनको भनाई थियो ।
अबको पाटो आर्थिक समृद्धि नै भएकाले महिलामा लगानी गरी आर्थिक रुपमा बलियो हुन जरुरी रहेको बताइन् । विभिन्न चरणका अन्दोलन र अभियानले ल्याएको महिलाको अधिकार अर्थिक रुपमा बलियो नभएका कारण खुम्चिरहेको भन्दै उनले सामाजिक भूमिकाबाट अघि बढ्न आफै अब्बल हुन सुुझाइन् ।
अनेम संघ मकवानपुरका अध्यक्ष गायत्री सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा अनेम संघका केन्द्रीय सदस्य सीता अधिकारी, पार्टीका राष्ट्रिय परिषद सदस्य अस्मिता श्रेष्ठ, नेकपा एकीकृत समाजवादीको जिल्ला अध्यक्ष बिष्णु दाहाल, अनेमसंघ प्रदेश कमिति सदस्य कल्पना विक, पार्टी सचिवालय सदस्य किशोर बर्तौला, अनेम संघ जिल्ला कमिटि उपाध्यक्ष गिता कडारीया मैनाली ,नेतृ मेनका श्रेष्ठलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमका अवसरमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा रहेका विभिन्न पेशामा आबद्घ दश जना महिला नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । हेटौंडाको ३,४,६, ९,१३ र १८ नम्बर वडाका उनीहरु एसमा प्रवेश गरेका हुन् ।