छुट्टिए बाबुराम र महिन्द्र
काठमाडौँ । डाक्टर बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेपछि पार्टीका अध्यक्ष महिन्द्र राय यादव र भट्टराई अलग भएका छन् । यसअघि जनता समाजवादी पार्टीबाट छुट्टिएर डाक्टर भट्टराईले नेसपा खोलेका थिए ।
पार्टी फुटेसँगै यादव समूहले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको छ । बाबुराम भट्टराईलाई पनि सहभागी गराउने प्रयास असफल भएपछि नेसपा फुटाएर महिन्द्र रायले माओवादीसँग एकता गर्ने सहमति गरेका हुन् । माओवादीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको छ ।
बैठकले एकीकृत पार्टीको नाम भने आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको छ ।