थानाभर्याङमा २ सयभन्दा बढीको स्वास्थ्य जाँच
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङमा २ सयजना भन्दा बढीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौँडा ११ थानाभर्याङको आयोजनामा भएको १ दिने निःशुल्क स्वास्थ्य शिविरमा उनीहरुको स्वास्थ्य जाँच गरिएको हो ।
शनिबार भएको स्वास्थ्य शिविरमा हेटौँडा १ भिन्तुनापथमा अवस्थित मकवानपुर सहकारी अस्पतालको सहकार्य तथा नवलपुर शहरी स्वास्थ्य केन्द्र हेटौँडा ११ को समन्वय रहेको थियो । शिविरमा नवजात शिशु तथा बालरोग विशेषज्ञ वरिष्ठ डाक्टर हरिबहादुर खड्का, स्त्री, प्रसुति तथा परिवार नियोजन विशेषज्ञ डाक्टर राघवेन्द्र ठाकुर लगायतले सेवा दिएका थिए ।
शिविर औपचारिक कार्यक्रम सहित सुरु भएको थियो । कार्यक्रममा हेटौँडा ११ की वडाअध्यक्ष जुना दाहाल, हेटौँडा २ का वडाअध्यक्ष विष्णुगोपाल महर्जन, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवाकेन्द्र हेटौँडा ११ का अध्यक्ष देवकुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।