मकवानपुरगढीको खेतियोग्य जमिनमा सिँचाईको अभाव
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका विभिन्न स्थानहरुमा रहेका खेतियोग्य जमिनमा सिंचाईको अभाव देखिएको छ । मकवानपुरगढीको धमिलेफाँट, कुर्ले, बागदली, झल्ला, सामरी लगायतका क्षेत्रहरुमा सिँचाईको अभाव देखिएको हो ।
मकवानपुरगढीका संचारकर्मी एमपी शर्मा पौडेलका अनुसार त्यस क्षेत्रका किसानहरु अहिले सिँचाई अभावका कारण मारमा परेका छन् । संचारकर्मी पौडेलले किसानहरुको समस्या झन झन बढ्दै गएको बताएका छन् ।
मकवानपुरगढीका किसानहरुमध्येका एक बद्री तिमल्सिनाले सिँचाई अभावले आफुहरु मारमा परेको बताएका छन् । बिगत १० वर्षदेखि कृषि फर्म नै दर्ता गरेर तरकारी खेति गरिरहेका तिमल्सिनाले अहिले खोल्सामा पानी जमाएर र ईनारको पानी प्रयोग गरेर सिँचाई गर्न लागेको बताए ।
नजिकै रहेको सामरी खोलाका साथै कुलोहरु पनि सुकेकोले अहिले सिँचाईमा थप समस्या थपिएको हो । नहरको व्यवस्था समेत नभएको अवस्थामा स्थानीय जनप्रतिनिधिहरुले सिँचाईका लागि पहल थालेतापनि त्यसको कार्यान्वय नभएको तिमल्सिना बताउँछन् । सिँचाई अभावले अहिले लगाएका बालीहरु समेत सुक्न थालेका छन् ।












































