हेटौँडाका ६ वटा मिठाई पसल र रेष्टुरेन्टलाई जरिवाना

लोकखबर
७ चैत्र २०८०, बुधबार ११:५८

मकवानपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले हेटौँडाका विभिन्न स्थानमा संचालित ६ वटा मिठाई पसल तथा रेष्टुरेन्टहरुलाई जरिवाना गरेको छ । ती रेष्टुरेन्ट तथा पसलहरुले सरसफाईमा ध्यान नदिएको अनुगमनका क्रममा पाइएपछि उनीहरुलाई जरिवाना तिराइएको खाद्य तथा गुण नियन्त्रण कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यालयले सरसफाईमा लापरवाही गरेको भन्दै हेटौँडा १ को गंगा मिठाई उद्योगलाई नगद ५ हजार रुपैयाँ, जय शम्भु मिष्ठान्न भण्डार हेटौँडा ४ लाई नगद १० हजार रुपैयाँ, वृन्दावन मिष्ठान्न भण्डार हेटौँडा ४ लाई नगद ५ हजार रुपैयाँ, हिमालयन स्विट्स हेटौँडा ४ लाई नगद ५ हजार रुपैयाँ र युनिभर्सल रेष्टुरेन्ट हेटौँडा ४ लाई नगद १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

खाद्य तथा दाना पदार्थ एवम् कच्चा पदार्थहरुको गुणस्तर तथा स्वच्छता कायम गर्ने उदेश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडा, जिल्ला प्रशासन कार्यालय मकवानपुर, उद्योग तथा बाणिज्य कार्यालय मकवानपुर, हेटौँडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय मकवानपुर र उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरले चैत ४ देखि ६ गतेसम्म दिन अनुगमन गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १,२,४ र १० मा गरिएको अनुगमनका क्रममा २६ वटा पसल, होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गरिएको थियो । अनुगमन गरिएका धेरैजसो पसल तथा होटल रेष्टुरेन्टमा सरसफाईमा लापरवाही गरिएको देखिएको छ । उनीहरुलाई सरसफाईका लागि निर्देशन समेत दिइएको छ ।

साथै कतिपय पसल र होटलहरुमा म्याद नाघेको खाद्यपदार्थ प्रयोग भईरहेको पाएकोमा नष्ट समेत गरिएको छ । हेर्नुहोस् पुरा विवरण–

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*