क्याप्सिकमको व्यवसायिक खेतीमा रमाउँदै थाहा नगरका निरोज प्रधान

मकवानपुर । मकवानपुरको थाहानगरपालिकास्थित पालुङका युवा कृषि उद्यमि निरोज प्रधानले रातो र पहेँलो क्याप्सिकमको व्यवसायिक खेती सुरु गरेको करिब ६ भएको छ । स्वास्थ्यको दृष्टिकोण लाभदायक र आर्थिक रुपमा आयआर्जन गर्न सकिने हुनाले क्याप्सिकम खेतीमा लागेको उनले बताए । ठुला–ठुला होटलको पहिलो रोजाइमा पर्ने यी खुर्सानी प्रजातिका तरकारीको वर्षौँ अध्ययन तथा बजार माग अध्ययन गरेर व्यवसायिक खेती गरेको उनी बताउँछन् ।
नेपालमा रातो र पहेँलो प्रजातिको क्याप्सिकम नेपालमै सुरुमा आफुले व्यवसायिक खेती गरेको उनी दाबी गर्छन् । नेपालमा रातो–पहेँला क्याम्पिसकमको खुर्सानीको बिउबिजन नपाइने भएकोले बिउका साथै औँषधि समेत विदेशबाटै ल्याउनु परेको उनी बताउँछन् । उनले जापानदेखि बिउ मगाएर क्याप्सिकमको खेती थालेको बताए ।
राता पहेँला खुर्सानीमात्र नभई अन्य तरकारी खेती समेत गर्ने गरेका प्रधानले ३ रोपनीमा राता–पहेँला खुर्सानी खेती गरेका छन् । त्यस्तै मुला, पिरो खुर्सानी, काउली, आलुको पनि उनले खेती गर्दै आएका छन् । तरकारीको भाउ नभएको समयमा महङ्गो दाममा बिक्री हुने राता पहेँँला क्याप्सिकमको स्थानीय बजार नभएता पनि भाटभटेनीमा भने माग राम्रो भएको उनी बताउँछन् ।
प्रत्येक वर्ष चैतमा खेती गरी साउन अन्तिम तथा भदौको पहिलो हप्ताबाट बिक्रीमा लान सकिने यी राता–पहेँला खुर्सानी हाल बोटमै लटरम्म फलिरहेका छन् । न्युनमत ७ देखि ८ लाखको लागत लाग्ने यी खुर्सानीले करिब दोब्बर उत्पादन दिन सक्थे । अहिले उत्पादन अलि बढी भएको र ठुला होटल कम चलेकोले राम्रो बजार भाउ र माग कम भएको प्रधान बताउँछन् ।
बिगत २० वर्षदेखि कृषि क्षेत्रमा संलग्न ४० वर्षका प्रधानले करिब १५ रोपनी जग्गामा विभिन्न थरीका तरकारी खेती गरेको त्यहाँबाट स्थानीय शम्भु अधिकारीले जानकारी दिए । प्रधानले उत्पादन गरेको तरकारी लिन काठमाडौँ लगायत पुर्वका शहरका ब्यापारीहरु अर्डरका लागि थाह नगर आउने गरेको उनी बताउँछन् ।
अन्य खुर्सानीका तुलनामा केही महङ्गो पर्ने यी खुर्सानीले उचित बजार पाउन गाह्रो हुने प्रधान बताउँछन्। उनका अनुसार राता–पहेँला खुर्सानीसँगै गाँजर, हरियो खुर्सानी, होटलमा जाने गर्छन् । १५–१६ वर्षदेखि कृषि क्षेत्रमा कार्यरत उनी कृषि क्षेत्रमा गर्नेको लागि अथाह सम्भावना रहेको बताउँछन् । यद्यपि, कृषि क्षेत्रमा नै व्यवसायिक रुपमा लाग्छु भनेर आउने सबैलाई राम्रो अध्ययन गर्न र बुझेर मात्रा लाग्न उनी सल्लाह दिन्छन् ।