कमेडी च्याम्पियनमा १० जनाले पाए गोल्डेन भोट

चन्द्र घलान
१२ चैत्र २०८०, सोमबार १६:३०

मकवानपुर ।चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन ३ को उत्कृष्ट १६ जना प्रतियोगीहरुमध्ये १० जना प्रतियोगीहरुले गोल्डेन भोट प्राप्त गरेका छन् । गोल्डेन भोट पाएसँगै उनीहरुले निर्णायकको तर्फबाट उत्कृष्ट १० को स्थान सुरक्षित गरेका छन् । अब उनीहरुले दर्शकबाट पाएको भोट र निर्णायक भोट जोडेर उत्कृष्ट १० प्रतियोगीहरु घोषणा गरिनेछ ।

कमेडी च्याम्पियन सिजन ३ को उत्कृष्ट १६ मा गोल्डेन भोट पाउने पहिलो प्रतियोगी हुन् ऋषभ काफ्ले । उनले उत्कृष्ट १६ को प्रस्तुतिमा विभिन्न सामाजिक विकृति र समसामयिक विषयमा व्यङ्ग्य गरेका थिए । उनलाई निर्णायक सन्तोष पन्तले गोल्डेन भोट दिएका हुन् । यसअघि उनले सुपर थर्टी राउण्डमा गोल्डेन बजर पाएका थिए । उनी सुनसरीका हुन् । त्यस्तै गोल्डेन भोट पाउने दोस्रो प्रतियोगी हुन् सुयशा खनाल । उनले उत्कृष्ट १६ को प्रस्तुतिमा सडक बालकको रुपमा गम्भिर विषयको उठान गरेकी थिईन् । उनलाई तिनै जना निर्णायकहरुले गोल्डेन भोट दिएका थिए । यसअघि कमेडी च्याम्पियन सिजन ३ को सुपर थर्टी राउण्डमा उनले गोल्डेन बजर पाएकी थिईन् । उनी नवलपराशीकी हुन् ।

त्यस्तै गोल्डेन भोट पाउने तेस्रो प्रतियोगी हुन् अच्युत काफ्ले । उनले उत्कृष्ट १६ को प्रस्तुतिमा पत्रकार ऋषि धमलाको क्यारिकेचर गर्दै बिगबोस कार्यक्रमको फरम्याटमा नेपाली राजनितिलाई राखेर व्यङ्ग्य गरेका थिए । उनको प्रस्तुतिमा निर्णायकहरु सन्तोष पन्त र मनोज गजुरेलले गोल्डेन भोट दिएका थिए । उनी उदयपुरका हुन् । गोल्डेन भोट पाउने चौथो प्रतियोगी हुन् कृष्ण गैरे । उनले उत्कृष्ट १६ को प्रस्तुतिमा एउटा दुःखी अनुहार भएको मानिसले समाजमा भोग्नुपर्ने चुनौति र मानिसहरुले गर्ने व्यवहारका बारेमा कडा व्यङ्ग्य गरेका थिए । उनको प्रस्तुतिमा निर्णायक ऋचा शर्माले गोल्डेन भोट दिएकी हुन् । यसअघि नै कृष्णले कमेडी च्याम्पियन सिजन ३ को सुपर थर्टी राउण्डमा गोल्डेन बजर समेत पाएका थिए । उनी सिजन ३ को फिजिकल अडिसनमा गोल्डेन कि जितेका पहिलो प्रतियोगी समेत हुन् । उनी तनुहँका हुन् ।

त्यस्तै गोल्डेन भोट पाउने पाँचौँ प्रतियोगी हुन् सन्देश सुवेदी । उनले उत्कृष्ट १६ को प्रस्तुतिमा नेपालमा युवाहरुले भोग्नुपरेको मानसिक पिडा र डिप्रेसनले निम्ताएको दयनीय अवस्थाका बारेमा सन्देशमुलक व्यङ्ग्य गरेका थिए । पारिवारिक र परिस्थितिको दवाबमा परेर युवाहरु कसरी डिप्रेसनको शिकार बन्छन् र आत्माहत्यासम्म पुग्न बाध्य हुन्छन् भनेर उनले डार्क कमेडी गरेका थिए । उनलाई निर्णायक ऋचा शर्माले गोल्डेन भोट दिएकी थिईन् । उनी बुटवलका हुन् । गोल्डेन भोट पाउने छैटौँ प्रतियोगी हुन् रुपेश गौतम । उनले उत्कृष्ट १६ को प्रस्तुतिमा डेलिभरी ब्वाईको क्यारेक्टरमा प्रस्तुति दिएर राजनीति तथा सामाजिक कुरितिहरुबारे कडा व्यङ्ग्य गरेका थिए । उनलाई तिनै जना निर्णायकहरुले गोल्डेन भोट दिएका थिए । उनी कमेडी च्याम्पियन सिजन ३ को फिजिकल अडिसनमा गोल्डेन कि जितेका चौथो प्रतियोगी समेत हुन् । उनी काभ्रेपलाञ्चोक पनौतिका हुन् ।

त्यस्तै गोल्डेन भोट पाउने सातौँ प्रतियोगी हुन् रुपेश गौतम । उनले उत्कृष्ट १६ को प्रस्तुतिमा बेरोजगार स्पाईडर म्यानको क्यारेक्टरमा सामाजिक कुरितिहरुमाथि व्यङ्ग्य गरेका थिए । उनलाई निर्णायक मनोज गजुरेलले गोल्डेन भोट दिएका थिए । यसअघि उनले सुपर थर्टी राउण्डमा गोल्डेन बजर पाएका थिए । उनी काभ्रेका हुन् । गोल्डेन भोट पाउने आठौँ प्रतियोगी हुन् सुनिल खड्का । उनले उत्कृष्ट १६ को प्रस्तुतिमा किसानको क्यारेक्टरमा रहेर किसानका समस्या र भोगाईका विषयमा व्यङ्ग्य गरेका थिए । उनलाई तिनै जना निर्णायकहरुल गोल्डेन भोट दिएका थिए । उनी उत्कृष्ट १६ को पफोमर अफ द राउण्ड बन्दै उत्कृष्ट १० मा पनि प्रवेश गरेका छन् । उनले यसअघि नै सुपर थर्टी राउण्डमा गोल्डेन बजर पाएका थिए । उनी काठमाडौँ दक्षिणकालीका हुन् ।

त्यस्तै गोल्डेन भोट पाउने नवौँ प्रतियोगी हुन् बिरेन प्रधान । उनले उत्कृष्ट १६ को प्रस्तुतिमा पुराना नेपाली चलचित्रहरुको विषयमा व्यङ्ग्य गरेका थिए । उनलाई तिनै जना निर्णायकहरुल गोल्डेन भोट दिएका थिए । उनी सिक्किमका हुन् । गोल्डेन भोट पाउने दशौँ प्रतियोगी हुन् निश्चल अर्याल । उनले उत्कृष्ट १६ को प्रस्तुतिमा नेपालको राजनीति र अन्य विविध विषयमा व्यङ्ग्य गरेका थिए । उनलाई निर्णायकहरु मनोज गजुरेल र ऋचा शर्माले गोल्डेन भोट दिएका थिए । उनी बर्दियाका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*