हेटौँडा १२ र ७ फाईनलमा प्रवेश
मकवानपुर । मकवानपुरको हेटौँडामा जारी अन्तर वडास्तरीय १५ नम्बर वडाध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर १२ र वडा नम्बर ७ बिच प्रतिस्पर्धा हुने भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित गौरीटार रंगशालामा जारी प्रतियोगितामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ८ लाई हराउँदै वडा नम्बर १२ फाईनलमा प्रवेश गरेको हो । त्यस्तै दोस्रो सेमिफाईनल खेलमा वडा नम्बर १५ लाई हराउँदै वडा नम्बर ७ फाइनलमा प्रवेश गरेको हो ।
पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ८ लाई ३–१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर १२ फाइनल प्रवेश गर्ने पहिलो टोली बन्न सफल भएको हो । वडा नम्बर १२ बाट साजन पाख्रिन एक्लैले ३ गोल गरेका थिए । पाख्रिनले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै वडा नम्बर ८ बाट विपिन घिमिरेले मात्र एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच ह्याट्रिक गर्ने वडा नम्बर १२ का पाख्रिन घोषित भएका थिए ।
शुक्रबारै भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक तथा तेस्रो संस्करणको उपविजेतासमेत रहेको वडा नम्बर १५ लाई २–१ गोल अन्तरले हराउँदै वडा नम्बर ७ फाइनलमा प्रवेश गरेको छ । वडा नम्बर ७ बाट कुशल अधिकारीले र राजु लामाले समान १–१ गोल गरेका थिए । वड नम्बर १५ को तर्फबाट विशाल भोलनले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच वडा नम्बर ७ बाट रोशन दोङ घोषित भएका थिए ।
आईतबार हुने फाइनल खेलमा उपाधिका लागि हेटौंडा १२ र हेटौंडा ७ बिच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाभित्रका १७ वटा वडाहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता भएको हो ।