हेटौँडा १ को शिखरकोटमा खानेपानीको समस्या
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ स्थित शिखरकोट क्षेत्रमा खानेपानीको समस्या र अभाव भएको त्यहाँका स्थानीयहरुले गुनासो गरेका छन् ।
स्थानीय दिनेश बम्जनका अनुसार सो क्षेत्रमा वर्षौँ अघिदेखि नै खानेपानीको समस्या भईरहेको छ । उनका अनुसार विक्रम संम्वत २०७२ सालमा गएको विनाशकारी महाभूकम्पपछि त्यस क्षेत्रमा खानेपानीको मुहानहरु सुकेपछि खानेपानीको समस्या चर्किएको हो ।
शिखरकोटका स्थानीयहरुले कुवा र जरुवाबाट एक गाग्री पानी ल्याउन पनि २ घण्टा ३० मिनेटभन्दा बढी समय लाग्ने गरेको बम्जनले बताए । पानी सुकेको स्थानबाट पानी ल्याउँदा पनि पानी स्वच्छ नभएको स्थानीयहरु बताउँछन् ।
स्वच्छ पानीको अभावले गर्दा स्थानीयहरुमा स्वास्थ्य समस्या बढ्ने जोखिम भएको भन्दै स्थानीयहरुले वडा नम्बर १ का सरोकारवाला निकायहरुलाई खानेपानीको समस्या समाधानका लागि आग्रह गरेका छन् ।