रेडक्रसको सामाजिक क्षेत्रमा अतुलनीय योगदान–मन्त्री श्रेष्ठ
मकवानपुर । बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले रेड्क्रसले सामाजिक क्षेत्रमा अतुलनीय योगदान पुर्याएको बताएका छन् । नेपाल रेड्क्रस सोसाइटी बागमती प्रदेशको ५ औं प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस शिविरलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले त्यस्तो दाबी गरेका हुन् ।
‘‘रक्तदान सेवा , एम्बुलेन्स सेवा तथा अन्य जोखिमयुक्त सेवाहरुमा पनि सक्रिय रहेर रेडक्रसले स्वयंसेवकको भुमिका निभाएको कुराप्रति प्रदेश सरकार सराहना गर्दछ’’–उनले भने । रेडक्रसमा राजनीतिको गन्ध आउन थालेको जनगुनासो बढेकोप्रति पनि रेडक्रसको ध्यानाकर्षण हुन जरुरी रहेको मन्त्री श्रेष्ठले बताए । रगतलाई निःशुल्क गर्ने व्यवहारिक निर्णयमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
सिद्धार्थ मावि हेटौंडा तथा नेरेस मकवानपुरको आतिथ्यतामा हेटौंडामा कार्यक्रम भैरहेको छ । नेपाल रेडक्रस सोसाइटीका बागमती प्रदेश अध्यक्ष भोलानाथ रुपाखेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेरेस उपमहामन्त्री मनोजकुमार थापा , केन्द्रिय सदस्य तथा जुयुस संयोजक विष्णुराज नेपाल, जिल्ला सभापति लालबहादुर थापा लगायत १३ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यक्रम २८ गते समापन हुने जिल्ला उपमन्त्री शिवहरी दाहालले जानकारी दिए ।











































