जनसाँस्कृतिक महासंघ समाजवादी मकवानपुरमा सानुभाइ विश्वकर्माको नेतृत्व
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी निकट जनसाँस्कृतिक महासंघ समाजवादीको जिल्ला कमिटी गठन भएको छ । सोमबार भएको जिल्ला भेलाले सानुभाइ विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल, मकवानपुरका अध्यक्ष सानुभाइ विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सदस्य राजकुमार चौधरीले स्वागत मन्तव्य राखेका थिए । सचिव सरस्वती तिमल्सिनाको संचालनमा भएको कार्यक्रममा जनसाँस्कृतिक महासंघ नेपाल समाजवादीका केन्द्रीय सचिवालय सदस्य दिवेशमान प्रधानले आफ्नो विचार राख्दै भेलले बगाएर बाँकी बसेका सांस्कृतिककर्मीहरु मात्र हाल महासंघमा रहेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि जनसाँस्कृतिक महासंघ नेपाल केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज शान्ति प्रियवन्दनाले सांस्कृतिककर्मीहरुलाई सङ्ख्यात्मक रुपमा नभएर गुणात्मक रुपले हेर्नुपर्ने बताउँदै कटिबद्ध सांस्कृतिककर्मीहरुलाई इतिहासले सम्झने कुरामा दुइमत नरहेको बताए ।











































