जुरेली रङ्गशाला निर्माणका लागि डेढ करोड सङ्कलन
मकवानपुर । पूर्वी मकवानपुरको बकैयामा रङ्गशाला निर्माणका लागि नगद र जिन्सी सहित डेढ करोड रुपैयाँ सङ्कलन भएको छ । जुरेली रङ्गशाला निर्माण लागि बकैया–४, मा लगाइएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सहयोगी दाताबाट एक करोड ६७ लाख ३९ हजार ३३० रुपियाँ सङ्कलन भएको हो ।
समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले सामाजिक कार्यका लागि महायज्ञ लगाइएकोमा प्रशंसा व्यक्त गर्दै समाजमा विकास र रूपान्तरणका लागि सबै एक जुट हुन आवश्यक रहेको बताए । उनले बकैया खेलका लागि उर्वर क्षेत्र भएकाले जुरेली रङ्गशालाले पूर्णता पाए यहाँको अझैं विकास हुनेमा विश्वास व्यक्त गर्दै रङ्गशालाका लागि आवश्यक बजेट विनियोजन र आवश्यक सहयोगमा सधैँ अग्रभागमा रहेर सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।
करिव तीन बिगाहा क्षेत्रफलमा रहेको यस क्षेत्रमा कबडहल, बास्केटबल, टेबल टेनिस, भलिवल, फुटबल मैदान लगायतका खेल खेलाउने गरी रङ्गशाला निर्माण गर्न लागिएको समितिका अध्यक्ष विमल नेपालले जानकारी दिए । बकैया गाउँपालिका भित्रको खेलमैदान मध्येको जुरेली खेलमैदान उत्कृष्ट भएकाले रङ्गशालाका रुपमा विकास गर्नका लागि जुरेली खेलमैदानका लागि स्थानीयसँग १५ कठ्ठा क्षेत्रफल जग्गा खरिद गरेकाले त्यसको भुक्तानी गर्न महायज्ञ लगाइएको थियो । ‘बजेट सुनिश्चितताका लागि हामीले महायज्ञ लगाएका हौं, सबैले सहयोग गर्नुभयो, सबैलाई धन्यवाद छ, अब अन्य काम धमाधम गर्नेछौं,’–उनले भने ।
रङ्गशाला निर्माणका लागि जिल्ला समन्वय समिति, गाउँपालिका, वडातह र व्यक्तिगत रुपमा सहयोग प्राप्त भएको थियो ।