श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गरेका छन् ।
प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै मजदुरहरुले शोषण, दमन र उत्पीडनबाट राहत पाएको दिनको सम्झना गरिरहँदा श्रमको उचित सम्मान र सम्पूर्ण श्रमजीवीहरुको स्थापित अधिकार पूर्ण कार्यान्वयन गर्न यस दिवसले सबैलाई प्रेरित गरोस् भनेका छन् ।
प्रमुख शर्माले आधुनिकता, विकास र समृद्धिको रचनाकार आम श्रमजीवी भएको बताएका छन् । समयको लामो अन्तरालसम्म तिनै मजदुरहरु अधिकारविहीन, शोषित एवं उत्पीडित रहेको भन्दै गर्दै उहाँले आजभन्दा १३४ वर्ष अघि आजैका दिन अर्थात् मे १ तारिखमा विश्वभरका मजदुरहरुले अनवरत संघर्ष र बलिदान पश्चात् आफ्नो अधिकार स्थापित गरेको उल्लेख गरेका छन् ।
हाम्रो देशमा पनि २००७ साल यता यो दिवस मनाउन थालिएको उल्लेख गर्दै प्रमुख शर्माले हकअधिकार प्राप्तिका लागि नेपाली जनताले गरेको कठोर संघर्षमा नेपालका श्रमिक वर्गको अविस्मणीय योगदान रहेको बताए ।हामी ति अमूल्य योगदानको कदर तथा अविचलित संघर्षप्रति गौरव गर्दछौं ।’ प्रमुखले आफ्नो सन्देशमा भनेका छन् ,‘अझै पनि समय, ठाउँ र श्रमको समुचित परिभाषा नभएको, कानुनी प्रावधान बमोजिम सेवा-सुविधा नपुगेको र सामाजिक सुरक्षाको उचित व्यवस्था हुन नसकेको गुनासाहरू सुनिने गरेको छ ।’ यसका लागि राज्यले समुचित प्रबन्ध गरी गुनासाहरुको सम्बोधन गर्नु अत्यावश्यक भएको प्रमुख शर्माको भनाई छ ।